गण्डकी प्रदेश

‘सहकारीको पूँजी उत्पादनमूलक क्षेत्रमा’

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सहकारीमा संकलित पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरिने बताए।

अनलाइन पत्रकार संघ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सहकारीको समग्र व्यवस्थापन गर्न आवश्यक कानून निर्माणको तयारी भइरहेको बताए ।
महिला र युवालाई लक्ष्य गरी उद्यमशीलताको विकास गर्नु आवश्यक भएको उनको भनाइ थियो । मन्त्री अर्यालले उपलब्ध साधन स्रोतको उपयोग गर्दै स्वरोजगारका कार्यक्रम अघि बढाउन सकिने बताए ।

“सहकारीमा संकलित सानो पूँँजी समाजको आर्थिक समुन्नतिका लागि महत्वपूर्ण माध्यम बनेको छ,” उनले भने, “यसबाट आपसी समझदारी एवं सामूहिक भावनाको विकास हुँदै गएको छ ।” स्थानीय तह र सहकारीबीच समन्वय आवश्यक भएको औल्याउँदै उनले व्यवहारिकताका आधारमा सहकारीका लागि कर निर्धारण गर्नुपर्ने बताए । जग्गाको खण्डीकरणलाई निरुत्साहित गर्दै उत्पादनशील बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।