आर्थिक

म्यान्माका व्यवसायीलाई नेपालमा लगानी गर्न चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालको कृषि, पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी गर्न म्यान्माका व्यवसायीलाई आग्रह गरेको छ ।

म्यान्माको व्यापारिक प्रतिनिधिमण्डल र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीबीच आज भएको छलफलमा दुईपक्षीय व्यापार प्रवद्र्धनका लागि आग्रह गरिएको हो ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–म्यान्मा व्यापारलाई थप प्रवद्र्धन गर्न कृषि, पर्यटन र जलविद्युत्मा म्यान्माका निजी व्यवसायीलाई लगानी गर्न अनुरोध गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनीलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने धारणा व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले म्यान्माका अधिकांश जनताले बुद्ध धर्मलाई अनुशरण गर्ने भएको र भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भएकाले धर्म र संस्कृतिका माध्यमबाट पनि दुई देशलाई जोड्न सकिने बताए ।

सो अवसरमा म्यान्माको व्यापारिक प्रतिनिधिमण्डलका प्रमुख यू को को लाटले नेपाल गोर्खा आर्मी, सगरमाथा र लुम्बिनीको माध्यमबाट संसारमै चर्चित रहेको नेपालमा व्यापार प्रवद्र्धन मात्र नभई यहाँको बहु–आयामिक संस्कृति र प्राकृतिक वातावरणबाट संसारले लाभ लिनसक्नेमा जोड दिए ।