साहित्य

छोटाको ३२औँ कृति सार्वजनिक

बागलुङ । साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाको अनुसन्धानमूलक कृति ‘बागलुङको सांस्कृतिक आकाशमा नाटकीय इन्द्रेणी’ सार्वजनिक भएको छ ।

दीप–अमृत प्रकाशन बागलुङद्वारा प्रकाशित उक्त कृति छोटाको ३२औँ कृति हो । कृतिमा विसं २००७ अघि र पछि बागलुङमा प्रदर्शन गरिएका धार्मिक, सामाजिक नाटकको खोज र तथ्यलाई समावेश गरिएको छ ।

“नाटकको ऐतिहासिक पक्ष खोतल्ने प्रयास गरेको छु”, लेखक छोटाले भने, “बागलुङको नाटक संस्कृति बुझ्न कृतिले सघाउ पु¥याउँछ ।” विसं १९७६ मा पहिलो पटक प्रदर्शन भएको धार्मिक नाटक ‘जन्मजय लीला’सँगै बागलुङमा नाटकको शुरुआत भएको उनको भनाइ छ ।

कृतिमा तत्कालीन समयका नाटकका विषयवस्तु, घटना र पात्रको विवेचनात्मक चित्रण गरिएको छ । पछिल्लो कालको आधुनिक नाटक परम्परालाई पनि कृतिमा समावेश गर्ने प्रयास गरिएको साहित्यकार छोटाले बताए।

धार्मिक, सांस्कृतिक र सामाजिक विषय बोकेका परम्परागत नाटक सडक, सार्वजनिक मञ्चमा प्रदर्शन गर्ने चलन थियो । नाटक मञ्चनका लागि नाटकघर (थिएटर) नभए पनि ती नाटकले जनस्तरमा राम्रो प्रभाव राख्थे । साहित्यकार छोटाका यसअघि ‘धवलागिरिका लोक संस्कृति’, ‘धवलागिरिको छ दशकीय पत्रकारिता’, ‘बागलुङको बास्सा नाच’ लगायतका दर्जनौँ अनुसन्धानमूलक कृति प्रकाशित छन् । उनको पहिलो कृति ‘प्रकारान्त’ कथा संग्रह विसं २०४२ मा प्रकाशित भएको थियो ।