समाचार

पूर्णचन्द्र थापालाई प्रधानसेनापतिको कार्यभार हस्तान्तरण

काठमाडौं । प्रधानसेनापतिबाट अवकाश प्राप्त गर्नु एक महिना अगावै बिदा बस्ने नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहिबार जंगी अड्डामा आयोजित एक समारोहका बीच प्रधानसेनापतिको कार्यभार बलाधिकृत पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका छन् ।

गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनामा सहायक सेनानी दर्जाबाट प्रवेश गरी देश, जनता र संविधानको रक्षाको लागि सदा समर्पित भई करिब ४० वर्षसम्म अनवरत रुपमा सेवा गरी प्रधानसेनापतिको उच्च एवं गरिमामय ओहदाबाट प्रधानसेनापति क्षत्रीले भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दैछन् ।

सैनिक परम्परा अनुसार प्रधानसेनापति क्षत्री भोली बस्ने भएकाले बलाधिकृत थापालाई प्रधानसेनापतिको सम्पूर्ण कार्यभार बुझाएका छन् । बलाधिकृत थापालाई श्रावण १० गतेको नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम बिहिबार अर्थात श्रावण २५ गतेदेखि लागु हुने गरी प्रधानसेनापतिको कायम मुकायम बनाएको थियो ।

कार्यभार ग्रहण गरसँगै कामु प्रधानसेनापति थापाले नेपाली सेनालाई आधुनिकिकरण गर्ने प्रयास स्वरुप Less paper environment को लागिDigitization मार्फत कार्यालयहरुमा कामको शुरुवात गर्नुको साथै काठमाण्डौ—तराई/मधेश दु्रतमार्ग आयोजना कार्यान्वयनको लागि गठित निर्देशक समितिको अध्यक्षको सम्पूर्ण कार्यभार बलाध्यक्ष हेमन्त राज कुँवरलाई आजकै मितिबाट हस्तान्तरण गरेका छन् ।