बाग्मती

नेता आचार्यको योगदानको सम्झना

नुवाकोट । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसीले नेता विष्णुबहादुर आचार्यको योगदानलाई अहिलेको पुस्ताले भुल्न नहुने बताए।
सदरमुकाम विदुरस्थित काङ्ग्रेसको पार्टी कार्यालयमा आयोजित आचार्यको १३ औँ दिनको पुण्यतिथिमा भएको शोकसभामा नेता केसीले आचार्यले बिपीको सिद्धान्तलाई पालना गरी पार्टीमा योगदान दिएको बताए।
कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले आचार्यले पार्टीलाई जिल्लामा स्थापित गराउन र प्रजातान्त्रिक आन्दोलनका लागि अतुलनीय योगदान दिएको बताए। काङ्ग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसी, महासमिति सदस्य रमेश महतलगायतले आचार्यले नुवाकोटको काङ्ग्रेस र प्रजातान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेल्नुभएको विचार राखे । कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले कांग्रेसले निष्ठावान् अग्रज नेतृत्व गुमाउनुपरेको बताए ।
काँग्रेसका पुराना नेता आचार्यको यही साउन १२ गते राति ६३ वर्षका उमेरमा पाचक ग्रन्थीको अर्वुदरोगबाट निधन भएको थियो । विसं २०३३ देखि काँग्रेसको राजनीतिमा होमिएका आचार्यलाई काँग्रेसले पञ्चायतविरुद्ध ‘आउट पोष्ट’ कब्जा गर्ने नीतिअनुरुप २०४४ सालमा विदुर नगरपालिकाको निर्वाचनमा प्रमुखमा उम्मेदवार बनाएको थियो । पार्टी जिल्ला समितिका सदस्य, सहसचिव र सचिव हुँदै २०४६ सालको जनआन्दोलनताका आचार्य जिल्लामा पार्टीको उपसभापति भएर सक्रिय भएका थिए । नेता आचार्य पार्टी महासमिति सदस्यसमेत भएका थिए ।