सुदूरपश्चिम

खक्रौला भन्सारको स्तरोन्नति

धनगढी । कैलालीको दक्षिण पूर्वी सीमाक्षेत्र खक्रौलास्थित छोटी भन्सार कार्यालयको स्तरोन्नति गरिएको छ । उक्त कार्यालयलाई यही साउनदेखि स्तरोन्नति गरिएको हो । सत्र कर्मचारीको दरबन्दी स्वीकृत भएर आएको कार्यालय प्रमुख गोपीकृष्ण उप्रेतीले बताए । कार्यालयमा कर्मचारी खटनपटन गर्न बाँकी छ । आर्थिक वर्ष २०७४/७५ मा कार्यालयले रु दुई करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

टीकापुर बजार नजिकको खक्रौला भन्सार कार्यालयको नयाँ पक्की भवन निर्माण गरिएको छ । कार्यालयको स्तरोन्नतिसँगै सो क्षेत्रमा पशु क्वारेन्टाइन र खाद्य क्वारेन्टाइनसमेत स्थापना गर्ने प्रक्रिया अगाडि बढाइएको छ । जिल्लाको दक्षिणी सीमाक्षेत्रमा रहेका सात छोटी भन्सार कार्यालयमध्ये पृथ्वीपुर छोटी भन्सार चालू अवस्थामा छ । घुइँयाफाँटा, कनरी, बर्दवाफाँटा र भडरीलगायत छोटी भन्सार बन्द छन् । द्वन्द्वको समयमा बन्द भएका यी कार्यालय सञ्चालनमा आउन सकेका छैनन् ।

गत वैशाखदेखि कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी भन्सार कार्यालयलाई कैलाली भन्सार कार्यालय मातहत ल्याइएको छ । सो कार्यालय कैलाली नजिक पर्ने भएकाले त्यसको मातहत ल्याइएको हो ।