उर्जा

बङ्गलादेशी ऊर्जा राज्यमन्त्री राजधानीमा

काठमाडौँ । विद्युत् आदानप्रदान र द्विपक्षीय सहयोगसम्बन्धी विषयमा छलफल गर्न बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद यहाँ आज आइपुगेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निमन्त्रणामा राज्यमन्त्री हमिद काठमाडौँ आइपुगेका हुन् । राज्यमन्त्री हमिदलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता दिनेशकुमार घिमिरेले शुक्रबार द्विपपक्षीय भेटवार्ता एवं समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको जानकारी दिए । नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेशले विगत लामो समयदेखि नै संयुक्त लगानी गर्न चासो व्यक्त गरिरहेको बेला दुई देशका उच्च अधिकारीबीच भेटवार्ता र समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।

दुवै देशमा संयुक्त लगानी गर्ने, बङ्गलादेशले नेपालको विद्युत् खरीद गर्ने र सरकारी तहमा उच्चस्तरीय संयन्त्र बनाएर काम गर्नेलगायतका विषय समझदारीपत्रमा समेटिने सहसचिव घिमिरेको भनाइ छ । नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेश स्वयंले नै लगानी गर्ने वा संयुक्त कम्पनी बनाएर लगानी गर्ने वा अरु कुनै उपाय अपनाउने भन्ने विषयमा द्विपक्षीय छलफल हुने कार्यक्रम तय भएको छ ।

बङ्गलादेशले नेपालबाट करीब पाँच हजार मेगावाटसम्म विद्युत् लैजान तयार रहेको यसअघि नै सार्वजनिक गरिसकेको छ । भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर)ले निर्माण गर्न लागेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्समेत बंगलादेशलाई बिक्री गर्ने तयारी भएको यसअघि नै सार्वजनिक भएको थियो ।

ऊर्जा सहयोगसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा यसअघि नै भारत र चीनसँग हस्ताक्षर भइसकेको छ । बङ्गलादेशसँग हुन लागेको यो अर्को सम्झौता हो । नेपालको विद्युत् क्षेत्रीय बजारमा समेत लैजाने र बिक्री गर्ने लक्ष्य राखेर नै सरकारले बंगलादेशसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुन लागेको हो ।

भारतसँग विद्युत् व्यापार सम्झौता (पिटिए) भइसकेको छ । बङ्गलादेशमा विद्युत् लैजानका लागि भारतको समेत सहमति जरुरी छ । यद्यपि काठमाडौँमा सम्पन्न १८औँ दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन९सार्क० सम्मेलनको क्रममा विद्युत् आदानप्रदान तथा सहजीकरणका लागि सार्कस्तरीय ग्रीड स्थापना गर्ने विषयमा सहमति भएको छ । सोही आधारमा समेत नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि सहज हुने विश्वास लिइएको छ ।

विसं २०७४ चैत २१ मा थाइल्याण्डको राजधानी बैंककमा आयोजित दोस्रो एशिया तथा प्रशान्त क्षेत्रीय इनर्जी फोरमका अवसरमा पनि दुई मन्त्रीबीच ऊर्जा विकासमा सहकार्य गर्नेबारे छलफल भएको थियो । सो अवसरमा नै राज्यमन्त्री हमिदले नेपालको विद्युत् लैजान भारतको बाटो चाहिने हुँदा यसबारे बङ्गलादेशले आवश्यक पहल गर्ने प्रतिबद्धता मन्त्री पुनसमक्ष व्यक्त गरेका थिए ।

राज्यमन्त्री हमिदले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ । यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले आयोजना गर्ने अन्तक्र्रियामा समेत ऊर्जामन्त्री पुन र बङ्गलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री हमिदले सम्बोधन गर्नुहुने कार्यक्रम छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले नेपालको ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानीलगायतका विषयमा छलफलका लागि उहाँहरुलाई आग्रह गरिएको जानकारी दिए।
–––