गण्डकी प्रदेश

अभावमा गुञ्जदै हिंसापीडित उद्धार केन्द्र

बागलुङ । हिंसापीडितलाई सेवा दिन खुलेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) आफैँ थला परेको छ ।
धवलागिरि अञ्चल अस्पताल बागलुङमा विसं २०६८ मा खुलेको केन्द्र पूर्वाधार, जनशक्ति र बजेट अभावका कारण समस्यामा परेको हो ।

केन्द्रले हिंसापीडित व्यक्तिलाई निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्श जस्ता सेवा प्रदान गर्दै आएको थियो । लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पु¥याउँदै आएको केन्द्रलाई सुविधायुक्त बनाउने र गुणस्तर थप्ने विषयमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । अस्पतालका दुई वटा साँघुरा कोठामा सीमित बनेको केन्द्रको कार्यालय र बिरामी भर्ना गर्ने कोठा एउटै छ ।

एउटा कोठा मनोसामाजिक परामर्शका लागि प्रयोगमा छ । चौबिसै घण्टा सेवा दिनुपर्ने केन्द्र दुई जना जनशक्तिको भरमा चलेको छ । कार्यालय सहयोगीसमेत व्यवस्थापन हुन नसकेको केन्द्रका ‘फोकल पर्सन’ देवी भट्टराईले बताए ।

भट्टराईलाई अस्पतालको प्रसूति लगाएतका अन्य सेवामा पनि कामको जिम्मेवारी छ । जनशक्तिको कमीले केन्द्रबाट सेवा पाएका बिरामी र हिंसापीडितलाई ‘फ्लोअप’ गर्न समस्या भएको छ । सीमित बजेटका कारण रातिमा आउने बिरामीलाई खानाको व्यवस्था हुन सकेको छैन । रातिमा आकस्मिक आउने बिरामीलाई चाउचाउ, बिस्कुट खुवाएर राख्ने गरिएको छ । केन्द्रमा दुई जना बिरामीलाई मात्र राख्न सक्ने क्षमता छ ।
अस्पतालको नयाँ भवन बनेपछि पूर्वाधारको समस्या हट्ने अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताए ।

केन्द्रमा एक जना पीडितलाई तीनदेखि पाँच दिनसम्म राखेर उपचार, कानूनी, मनोसामाजिक परामर्श लगायतका सेवा दिने गरिएको छ । यहाँ उपचार सम्भव नभएका बिरामीलाई मात्र पोखराको क्षेत्रीय अस्पतालमा रहेको ‘ओसिएमसी’ मा पठाउने गरिन्छ ।

पाँच सय जना लाभान्वित

अञ्चल अस्पतालमा रहेको केन्द्रबाट विगत सात वर्षमा ५०० जना लैङ्गिक हिंसा पीडितले सेवा लिएका छन् । केन्द्रमा पाउने निःशुल्क उपचार, परामर्श सेवाले न्यायका लागि कानूनी बाटो समात्नसमेत पीडितलाई सहज भएको छ । बढीजसो यौन, घरेलु हिंसा र मानसिक यातनाबाट पीडित व्यक्ति केन्द्रमा आउने गरेका छन् ।

केन्द्रका अनुसार बलात्कार, विषादी सेवन, आत्महत्याको प्रयास जस्ता घटना पनि केन्द्रमा उत्तिकै आउँछन् । केन्द्रबाट बागलुङसहित पर्वत, म्याग्दी र अन्य जिल्लाका समेत हिंसा पीडितले लाभ लिने गरेका छन् । लैङ्गिक हिंसाबाट पीडित र प्रभावितलाई एकै द्वारबाट उपचार, परामर्श सेवा दिने उद्देश्यले स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालहरुमा ‘ओसिएमसी’ सञ्चालनमा ल्याएको हो ।