खेलकुद

पूर्वाञ्चलस्तरीय स्नुकर खेलमा कार्की प्रथम

इटहरी । पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ रु ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका अमनले इटहरीका आयुष गौतमलाई लगातार ६–३ अङ्कको स्कोरले पछि पार्दै उक्त उपाधिमाथि विजय प्राप्त गरेको प्र्रतियोगिता सञ्चालक सिटी हेल्थ एण्ड स्नुकर क्लबका सञ्चालक श्याम कार्कीले बताए ।
प्रतियोगितामा दोस्रो हुनुभएका इटहरीका स्नुकर खेलाडी आयुष गौतमले रु २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी उक्त प्रतियोगितामा विर्तामोडका मिलन गहतराज र उत्सव लिम्बू प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु दुई हजार ५०० नगद ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उक्त खेलमा इटहरीका प्रवेश प्रधान र अस्मित कार्की प्रतियोगिताको उदीयमान खेलाडी हुँदै दुवैले रु दुई हजार ५०० नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै उक्त खेलमा धरानका आशिष राई तथा उत्सव लिम्बू र दोर्जे पाख्रिन एवं इटहरीका तेजबहादुर चौधरी प्रतियोगिताको क्वार्टर फाइनल खेलमा प्रवेश गर्न सफल भएकाले उनीहरु चारै जनाले पनि जनही रु पाँच–पाँच हजार नगद प्राप्त गरेका छन् ।
त्यसैगरी सोही खेलअन्तर्गत इटहरीका विकास गुरुङ र विराटनगरका खेलाडी अनुप सिंह खेलको सेमी फाइनलमा प्रवेश गर्न सफल भई जनही रु १० हजार नगद प्राप्त गर्न सफल भएका थिए ।
एक साताव्यापी चलेको उक्त खेलमा पूर्वाञ्चलका विर्तामोड, विराटचोक, धरान, विराटनगर, इटहरीलगायतका ५४ जना खेलाडीको सहभागिता रहेको सञ्चालक श्याम कार्कीले जानकारी दिए ।