गण्डकी प्रदेश

वेगमा पदमार्ग निर्माण

बेनी । रघुगङ्गा गाउँपालिका–१ वेगमा पदमार्ग निर्माण गरिएको छ । बेग–बाँदुक जोड्ने झोलुङ्गे पुलदेखि वेगको देउराली पुग्ने बाटामा पक्की पदमार्ग बनाइएको हो । झोलुङ्गे पुल रहेको काउलेदेखि ठूलो गाउँ हुँदै वडा कार्यालय रहेको देउरालीसम्म पदमार्ग निर्माण गर्ने योजनाअन्तर्गत यस वर्ष ७०० मिटर पक्की पदमार्ग निर्माण गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए।

वडा कार्यालयले आव २०७४÷७५ का लागि सो योजनामा गाउँपालिकाबाट रु ४८ लाख विनियोजन गरेको थियो । सो बजेटबाट वडा कार्यालयले खोप केन्द्र भवन निर्माणका लागि रु दुई लाख खर्च गरी स्थानीयवासीबाट श्रमदान जुटाएर पदमार्ग निर्माण गरेको हो । “पर्यटक भित्र्याउने लक्ष्यका साथ पुराना गोरेटोबाटोलाई आकर्षक पदमार्गमा रुपान्तरण गर्न लागेका छौँँ, पदमार्गको काम अझै बाँकी छ, गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ”, फगामीले भने ।

सिँढी चिनेर ढलान गरिएको सो पदमार्गमा रेलिङ निर्माण गर्ने योजना छ । चालू आवमा गाउँपालिकाले विनियोजन गरेको रु चार लाख ५० हजारमा ६० मिटर रेलिङ निर्माण गरिएको छ । नेपालकै लामो पुल भएकाले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग, चौतारी, खानेपानीको धारा, प्रतीक्षालयलगायत पूर्वाधार निर्माण गर्न थालिएको छ ।

अहिले झोलुङ्गे पुलको छेउमा चौतारो निर्माण भइरहेको छ । प्रतीक्षालय र खानेपानीको कामसमेत भइरहेको छ । पदमार्गको बीचमा स्थानीयवासी हिमलाल गर्बुजाको स्मृतिमा उनको परिवारले चौतारो निर्माण गरिरहेको छ । सोही ठाउँमा लोकबहादुर फगामीले प्रतीक्षालय निर्माण गरेका छन् ।

जनश्रमदानमा सडक मर्मत

मङ्गला गाउँपालिका–५ अर्मनका बासिन्दाले जनश्रमदानबाटै सडक मर्मत गरेका छन् । अर्मन पुलचोकदेखि गहते–नेटा–अर्मन हुँदै किमचौर सडकअन्तर्गत अर्मनखण्डमा एक दिनभर स्थानीयवासीले श्रमदान गरी सडक मर्मत गरेका हुन् ।
वर्षात्को कारण पहिरो र बाढीले सडकमा क्षति पु¥याउँदा अवरुद्ध बनेको सडकलाई करीब ३५ घरधुरीले श्रमदान गरी मर्मत गरेको वैंशालु वातावरण संरक्षण युवा क्लब अर्मनका सचिव गोविन्द रोकाले जानकारी दिए ।

कार्यपालिका सदस्य रत्नबहादुर विकलगायतको पहलमा स्थानीयवासीले पैरेनीमा पहिराले अवरुद्ध बनाएको सडक र खोलाखर्कमा बाढीले बिगारेको सडकलाई समेत मर्मत गरेको सचिव रोकाले बताए। श्रमदानमार्फत पानीको भलले सडकमा पारेको खाल्टाखुल्टीसमेत मर्मत गरिएको छ ।

श्रमदानमार्फत सडक मर्मत गरेपछि अर्मनखण्डमा अवरुद्ध भएको सडक खुले पनि नेटाखण्डमा पहिराले अवरुद्ध बनाएको सडक मर्मत नहुँदा सवारीसाधन आवतजावतमा भने समस्या कायम छ ।