अन्तर्राष्ट्रिय

भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो

मताराम, इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ ।

उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

भूकम्प गएको चार दिनपछि पनि भूकम्पले अति प्रभाव पारेको क्षेत्रमा उद्धार प्रयास हुन नसकेको बताइएको छ । यसकारण त्यस क्षेत्रबाट जीवित व्यक्तिको उद्धारको आशा पनि कम भएको जनाइएको छ ।

भूकम्पको कारण विस्थापित भएका केही व्यक्तिले अझै सहयोग नपाएको गुनासो पनि गरेका छन् ।

विशेषगरी उत्तर र पश्चिम लोम्बोकका भूकम्प पीडितलाई सहयोग पु¥याउन नसकिएको राष्ट्रिय प्रकोप निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले गर्नुभएको ट्वीटमा बिहीबार जानकारी दिइएको छ ।

यस भूकम्पमा परी १६४ व्यक्तिको मृत्यु भएको पुष्टि भएको नुग्रोहोले एएफपी समाचार समितिलाई बताएका छन् ।

साथै यस भूकम्पमा परी करिब १ हजार ४०० व्यक्ति गम्भीर घाइते भएका र १ लाख ५० हजार विस्थापित भएका पनि नुग्होरोले थप जानकारी दिनु भएको छ । भूकम्पका कारण घरबास गुमाएका व्यक्तिहरूलाई शिविर बनाएर राखिएको छ ।

ती व्यक्तिहरू स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका र यी भूकम्प पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको थियो । त्यसमा परी हालसम्म भएका क्षतिको विवरण आइरहेको छ ।

यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करीव १५ किलोमिटर गहिरो रहेको बताइएको छ ।

इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको भने खतरा नरहेको जनाएको छ । इन्डोनेसियामा यसै क्षेत्रमा गत साता आएको ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको थियो ।

सन् २००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्पपछि सुनामी आएको थियो । जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।