अन्तर्राष्ट्रिय

चिलीकी ब्यासेलेट मानव अधिकार प्रमुख नियुक्त

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बुधबार चिलीकी पूर्व राष्ट्रपति मिसेल ब्यासेलेटलाई राष्ट्रसंघीय मानव अधिकार प्रमुखमा नियुक्त गरेका छन् । दुई पटक चिलीको राष्ट्रपति भएकी ६६ वर्षीया मिसेलले चिलीका पूर्व तानाशाह पिनोसेको शासनकालमा चरम यातना भोगेका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिका कटु आलोचक जोर्डनका जाइद राद अल हुस्सेनलाई ब्यासेलेटले प्रतिस्थापन गर्नेछन् । निवर्तमान प्रमुख जाइद सेप्टेम्बर २०१४ देखि मानव अधिकार प्रमुखका रुपमा कार्यरत थिए ।

राजनीतिक वृत्तमा विश्वका सर्वाधिक शक्तिशाली महिलाको सूचीमा रहेकी ब्यासेलेटले सन् २०१० मा विश्वभर लैंगिक समानताको प्रबद्र्धनका क्षेत्रमा कार्य गर्ने संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनको प्रथम निर्देशकका रुपमा सेवा गरिसक्नु भएको छ ।

गुटेर्रेसले राष्ट्रसंघका क्षेत्रीय समूहहरुका प्रमुखसँगको परामर्श पश्चात बुधबार एउटा पत्र लेखी आफ्नो निर्णय संयुक्त राष्ट्रसंघीय महासभालाई जानकारी गराउनुभएको छ, राष्ट्रसंघको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एकसय ९३ सदस्यीय सभाको बैठकले शुक्रबार यससम्बन्धी प्रस्तावमा मतदान गर्नेछ । जाइदले अगष्ट ३१ तारिखबाट अवकाश लिँदै छन् ।

ब्यासेलेटले जाइदको कार्यकालमा रहेका कैयौं मतभेदलाई सुल्झाउनु पर्ने चुनौती छ । अमेरिका, रुस र चीन समेतका शक्तिशाली राष्ट्रको समर्थन गुमाउनुभएका जाइदले दोस्रो कार्यकालका लागि पहल नगर्ने घोषणा गरेका थिए । जाइदले गत वर्ष राष्ट्रपति ट्रम्पलाई “भिराला बाटाहरुमा जथाभावी सवारी हुइँक्याउने” बसका चालकसँग तुलना गरेका थिए ।

जाइदका सन्दर्भमा कटाक्ष गर्दै राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले “विगतका असफलता रोक्न” ब्यासेलेटलाई आग्रह गरे ।

“इरान, उत्तर कोरिया, कंगो र अन्यत्र भइरहेका गम्भीर मानव अधिकार सङ्कटको यथेष्ट सम्बोधन गर्न राष्ट्रसंघ असफल भएको छ । ब्यासेलेटमाथि विगतका परम्परावादी सोचबाट बाहिर निस्केर यी असफलताका बारेमा बोल्नुपर्ने चुनौती छ । हाम्रो विश्वास छ उहाँले हाम्रो भावनालाई पनि सुन्नु हुनेछ,” हेलीले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

जाइदले विश्व नेताहरुमाथि कडा टिप्पणी गरिआएका थिए । राष्ट्रसंघीय मानव अधिकार प्रमुखका रुपमा केही नरम आलोचक खोजी रहेको अवस्थामा गुटेर्रेसले गर्न लागेको नियुक्तिप्रति मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरिरहेका छन् ।

“यदि ब्यासेलेटको नियुक्ति अनुमोदन भएमा यो उहाँमाथि ठूलै चुनौती हुनेछ किनभने विश्वभर अहिले मानव अधिकारको विषय सर्वाधिक संवेदनशील भइरहेको छ, र मानव अधिकारमाथि जथाभावी आक्रमण भइरहेको छ,” ह्यूमन राइट्स वाचका कार्यकारी निर्देशक केन्नेथ रोथले बताए । “उहाँ आफैं यातना पीडित भएकाले मानव अधिकारको रक्षाका लागि विशिष्ट योगदान हुने अपेक्षा गर्न सकिन्छ ।”