गण्डकी प्रदेश

बेगमा पदमार्ग निर्माण

बेनी । रघुगङ्गा गाउँपालिका–१ बेगमा पदमार्ग निर्माण गरिएको छ । बेग–बाँदुक जोड्ने झोलुङ्गे पुलदेखि बेगको देउराली पुग्ने बाटोमा पक्की पदमार्ग निर्माण गरिएको हो । झोलुङ्गे पुल रहेको काउलेदेखि ठूलो गाउँ हुँदै वडा कार्यालय रहेको देउरालीसम्म पदमार्ग निर्माण गर्ने योजनाअन्तर्गत यस वर्ष ७०० मिटर पक्की पदमार्ग निर्माण गरिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए ।

वडा कार्यालयले आव २०७४/७५ का लागि सो योजनामा गाउँपालिकाबाट रु ४८ लाख विनियोजन गरिएको थियो । सो बजेटबाट वडा कार्यालयले खोप केन्द्र भवन निर्माणका लागि रु दुई लाख खर्च गरी स्थानीयवासीबाट श्रमदान जुटाएर पदमार्ग निर्माण गरेको हो । “पर्यटक भित्र्याउने लक्ष्यका साथ पुराना गोरेटोबाटोलाई आकर्षक पदमार्गमा रुपान्तरण गर्न लागेका छौँँ, पदमार्गको काम अझै बाँकी छ, गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसँग बजेट माग गरेका छौँ”, फगामीले भने ।

सिँढी चिनेर ढलान गरिएको सो पदमार्गमा रेलिङ निर्माण गर्ने योजना छ । चालू आवमा गाउँपालिकाले विनियोजन गरेको रु चार लाख ५० हजारमा ६० मिटर रेलिङ निर्माण गरिएको छ । नेपालकै लामो पुल भएकाले आन्तरिक तथा बाह्य पर्यटक भम्रणमा आउने भएकाले सो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग, चौतारी, खानेपानीको धारा, प्रतिक्षालयलगायत पूर्वाधार निर्माण गर्न थालिएको छ ।

अहिले झोलुङ्गे पुलको छेउमा चौतारो निर्माण भइरहेको छ । प्रतिक्षालय र खानेपानीको कामसमेत भइरहेको छ । पदमार्गको बीचमा स्थानीयवासी हिमलाल गर्बुजाको स्मृतिमा उनको परिवारले चौतारो निर्माण गरिरहेको छ । सोही ठाउँमा लोकबहादुर फगामीले प्रतिक्षालय निर्माण गरेका छन् ।