प्रदेश 1

महिला तथा बालबालिका हराउने क्रम रोकिएन

भद्रपुर । खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् । जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन परेका ३६६ महिलामध्ये २६७ जना मात्र फेला परेको प्रहरीले जनाएको छ । उनान्सय महिला अझै बेपत्ता छन् । हराउनेमा ४४ बालकमध्ये ३६ फेला परेका छन् भने आठ जना फेला परेका छैनन् ।

सोही अवधिमा १०२ बालिकामध्ये ८५ जना फेला परेका छन् भने १६ बालिका अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा विगत चार वर्षमा हराएका भेटिने कमै मात्रामा छन् । आव २०७१/ २०७२ मा हराएका ३३० महिलामध्ये १६० मात्र भेटिएका छन्, जसमा १७० जना अझै बेपत्ता छन् ।
त्यस्तै २०७२/ २०७३ मा महिला तथा बालबालिका ३५५ जना हराएको निवेदन परेकामा २३६ फेला परेको प्रहरीले जनाएको छ । तिनमा ११९ अझै बेपत्ता छन् । आव २०७३ /२०७४ मा हराउने महिला तथा बालबालिका ४२८ थिए जसमा फेला परेका २७६ छन् । एक सय ५२ जना अझै बेपत्ता छन् । जिल्लाका विभिन्न इलाका प्रहरीमा निवेदन परे पनि फेला पर्नेको सङ्ख्या भने कम छ ।
महिला तथा बालबालिका क्षेत्रमा काम गर्दै आएकी महिला अगुवा भोजकला दवाडीले नेपाली महिला वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा घरेलु कामदारका लागि भारतीय बाटो हुँदै जानेको गरेको बताए । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार खुला सीमाना भएका कारणले गर्दा महिला हराउने क्रम बढेको हो ।

रोजगारीमा लगाइदिन्छु भनेर प्रलोभनमा पारेर भारतका विभिन्न शहरमा नेपाली चेलीहरु बेचिएकाले पनि कम मात्रामा फेला पर्ने गरेको प्रहरीको भनाइ छ । सामाजिक सञ्जालले गर्दा पनि बढी मात्रामा युवती प्रेममा पर्ने र झुटो विवाहका सम्बन्धमा पारेर नेपाली चेलीहरु भारतमा बेचिने गरेका छन् ।