पर्यटन/संस्कृति

माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

रत्ननगर । पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ । कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिए ।

माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गरिने छ । जुन बस्तीमा जुन जातिको बाहुल्यता छ, त्यही जातिका परिकारको स्वादमा स्थानीय रहनसहन र सांस्कृतिक प्रदर्शनीमा रम्न सक्ने गरी होमस्टे निर्माण गर्न लागिएको हो । यो वर्ष थारु, बोटे र राईका होमस्टे खुल्नेछन् ।

ढकालका अनुसार यसपाली नगरसभाले होमस्टे बनाउन रु ७५ लाख छुट्याएको छ । “होमस्टेका लागि समुदायको पनि लगानी हुन्छ, विभिन्न संघ संस्थासँग पनि सहकार्य हुन्छ, ढकालले भन्नुभयो, होमस्टेमार्फत आयआर्जनको विकास र पर्या–पर्यटनको विकास गर्नु हाम्रो लक्ष्य हो ।”

माडी नगरपालिका–८ शिवद्वारमा विगत केही वर्षदेखि मगर समुदायको होमस्टे सञ्चालनमा छ । अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे शिवद्वारमा आएका पाहुना सोरठी, सालेजु, चुड्का, ठाडो भाका प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् । यहाँ स्थानीयस्तरमा पाउने मौलिक खाना पाइन्छ । अबका होमस्टे पनि स्थानीय रहनसहन संस्कृतिका साथै मौलिक खाना पाइने र घरायसी वातावरणमा रम्न सकिने गरी निर्माण हुनेछन् ।

यस वर्ष माडी नगरपालिका–१ वनकट्टामा बोटे समुदायको संस्कृति देखाउने उद्देश्यसहितको १५, वडा नं ३ बघौडामा १० थारु होमस्टे र वडा नं ९ को राईटोलमा आठ राई होमस्टे निर्माण हुने नगरपालिकाले जनाएको छ । यस्तै शिवद्वारमा रहेको ११ होमस्टेको स्तरोन्नतिसहित नौँ थपेर २० पु¥याउने लक्ष्य राखिएको छ ।

माडी नगरपालिका–३ बघौडामा माडी सामुदायिक होमस्टे निर्माणका लागि यहाँको घरधुरी लगत संकलनसमेत गरिएको छ । ३५ घरधुरी रहेको सो बस्तीमा होमस्टे निर्माणका लागि ओमप्रकाश महतोको संयोजकत्वमा एक समिति निर्माण गरिएको स्थानीय सहयोगी संस्था सीप नेपालका सचिव गोविन्द न्यौपानेले जानकारी दिनुभयो । स्थानीय समुदायलाई अनुभव संगाल्न अन्यत्रको होमस्टेमा लगेर स्थलगत अवलोकन गराइने छ ।