पु.समाचार

दश किलोमिटरमा रेल चल्यो, हेर्न स्थानीयवासीको ओईरो

काठमाडौं । जनकपुर–जयनगर रेलमार्गको परीक्षण सफल भएको छ । बुधबार १० किलोमिटरमा सञ्चालन गरिएको रेलको परीक्षण सफल भएको भारतीय पक्षले बताएको हो । देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले सक्रियता देखाएपछि नेपाल भारत रेल सेवा सञ्चालनमा आउने भएको छ ।

रेल विभागले दिएको जानकारी अनुसार आज (बिहीबार) थप १० किमी खण्डमा रेल गुडाएर परीक्षण थालिएको थियो । सबै क्षेत्रमा परीक्षण सञ्चालन सकेर चाडै नै रेलमार्ग नियमि सञ्चालनमा ल्याईने विभागको भनाई छ । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर बाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेका थियो ।

परीक्षणपछि नेपाल भारत रेलवे सञ्चालनबारे कुनै संसय नरहेको बताईएको छ । परीक्षणका लागि गुडाईएको रेल जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेशनसम्म पुगेको थियो ।

यसैबीच, रेल हेर्न त्यस क्षेत्रका स्थानीयवासीको ओईरो लागेको छ । दुई मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेल्वेको स्टेशनमा हेर्ने आउनेको भीड जम्मा भएको थियो।

विगत ४ वर्षदेखि उक्त रेलमार्ग पूर्णरूपमा बन्द थियो । अब भारत सरकारको रु सात अर्ब सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको छ र चाडैँ नै रेलसेवा नियमित सञ्चालनमा आउने अधिकारीहरु बताउछन् ।