अन्तर्राष्ट्रिय

रुसलाई अमेरिकाले लायो प्रतिबन्ध !

काठमाडौं । गत मार्चमा पूर्व जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरीलाई ब्रिटेनमा स्नायु प्रणालीमा असर पार्ने विषबाट आक्रमण गरेको घटनालाई लिएर अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धहरू लगाउन लागेको छ।

विदेश मन्त्रालयकी प्रवक्ता नार्ट हिथरले रुसी सरकारले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै आफ्नै नागरिकविरुद्ध जैविक हतियारहरू अथवा घातक रसायन प्रयोग गरेकोमा आफू ढुक्क रहेको जनाएको छ।

संसदका रिपब्लिकन सांसदहरूको दबाबपछि विदेशमन्त्रालयले मस्कोले स्क्रिपाल र उनकी छोरीमाथि सैन्यस्तरको रासायनिक हतियार प्रयोग गरेर अन्तर्राष्ट्रिय कानुन तोडेकोबारे आफू स्पष्ट रहेको जनाएको हो।

यी नयाँ प्रतिबन्धहरूमा संवेदनशील खालका इलेक्ट्रोनिक सामानहरूलगायत अन्य प्राविधिक कुराहरूको निर्यात पर्छन्।

कानुन उल्लंघन

स्क्रिपाल र उनको छोरीमाथि रासायनिक विषको प्रयोग गरेलगत्तै करिब पाँच दर्जन कू‍टनीतिज्ञहरूलाई निष्कासित गरेको ट्रम्प प्रशासनले रुसले अन्तर्राष्ट्रिय कानून तोडेको औपचारिक रुपमा बताएको हो।

तर संसदले त्यस्तो निर्णयका लागि दबाब दिँदै आएको थियो र अहिले विदेशमन्त्रालयले रुसले रासायनिक हतियार प्रयोग गरेर सन् १९९१ को कानून तोडेको पुष्टि गरेको हो।

त्यस्तो उल्लंघनका लागि कुनै पनि देशमाथि अमेरिकाले प्रतिबन्ध लगाएको यो तेस्रोपटक मात्रै हो।

ब्रिटिश सरकारले अमेरिकाको यो कदमको स्वागत गरेको छ।

रुसले भने गत मार्च महिनामा स्क्रिपाल र उनको छोरीमाथि भएको हमलामा आफ्नो संलग्नता अस्विकार गरेको छ।

रुसमाथिको यो पछिल्लो प्रतिबन्ध अगष्टको अन्त्यबाट लागु हुनेछ।

राष्ट्रपति ट्रम्प भने अहिलेसम्म यो पछिल्लो कदमबारे मौन छन् जसले उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग न्यानो र नयाँ सम्बन्ध विकास गर्न गरेको प्रयासलाई राम्रैसँग अन्यत्र मोड्नसक्छ। -बिबिसीको सहयोगमा