प्रदेश 1

गाईघाट – फोक्सिङटार सडक अवरुद्ध

गाईघाट, उदयपु । सगरमाथा लोकमार्गको गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको गाईघाटदेखि फोक्सिङटार सडकखण्ड डेढ महिनादेखि पहिरोका कारण अवरुद्ध भएको छ । यसले उदयपुरको पहाडी क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात अवरुद्ध भएको छ ।
गाईघाट दिक्तेल सडकखण्डको साउने र छामलिङमा सडक माथिबाट निरन्तर पहिरो झरेर सडक अवरुद्ध भएपछि उदयपुरको उत्तरी पहाडी क्षेत्रका बिरामीसमेत एम्बुलेन्समा उपचारको लागि अन्यत्र लैजान समस्या भएको बलाम्ताका राजकुमार राईले बताए ।
सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्रको जाँते, बलाम्ता, रसुवा, ताम्लिछा, आपटार क्षेत्र र सुनकोशी पारी खोटाङका बिरामीलाई समस्या परेको छ । सडक अवरोधले पहाडी क्षेत्रका जनता दुई तीन दिन पैदल हिँडेर सदरमुकाम आवतजावत गर्नुपर्ने बाध्यता रहेको आपटारका दलबहादुर कटुवालले बताए ।
गाईघाट दिक्तेल सडक कार्यालय उदयपुर बोक्सेका प्रमुख इञ्जिनीयर हरि पोखरेलका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न प्रयास भइरहेपनि पहिरो झर्ने क्रम नरोकिएकाले पहिरो पन्छाउन गएको डोजरनै फसेको बताउँछन् ।
अर्को स्काभेटर पुनः पठाएर सडक अवरुद्ध हटाउन प्रयास गरेको र त्यो पनि पहिरोमा फसेको पोखरेलले बताए ।