पर्यटन/संस्कृति

घण्टाकर्ण पर्वमा शक्तिपीठमा घुइँचो

भक्तपुर । साउन शुक्ल चतुर्दशी दिन मनाइने गँठेमंगल अर्थात घण्टाकर्णको अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । यस पर्वलाई नेवार समुदायले ‘सिनाज्या ब्यंकेगु’ अर्थात् रोपाइँ सकिएको पर्वको रूपमा मनाउने गर्दछन् ।

आजको दिन नेवार समुदायले बिहानै घरमा लिपपोत गर्नुका साथै शुद्ध भएर विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँको जल ल्याएर घरघरमा छर्कने प्रचलन रहँदै आएकाले दर्शनार्थीको भीड लागेको हो ।

नेवारी समुदायमा आजदेखि परम्परागत नाच तथा बाजागाजा सिकाउन शुरु गरिनुका साथै गाइजात्रामा प्रदर्शन गरिने विभिन्न भैरव नाच तथा व्यंग्यले भरिपूर्ण नाटकको प्रशिक्षणसमेत दिइन्छ ।