पु.समाचार

पहिरोका कारण दर्जनौँ घर उच्च जोखिममा, ओली सरकार बेखबर !

चौतारा । अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले सिन्धुपाल्चोकमा दर्जनौँ घर उच्च जोखिममा परेको छ । अविरल वर्षासँगै गएराति पहिरोजाँदा सिन्धुपाल्चोकको सागाचोक र कुञ्चोकमा एक–एक घर पुरिएको छ भने थुम्पाखर र कालिकामा ६४ घर उच्च जोखिममा परेको छ ।

चौतारा सागाचोकगढी नगरपालिका–११ सागाचोकमा गएको पहिरोले एउटा किराना पसल र इन्द्रावती गाउँपालिकाको कुञ्चोकमा एक घर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार दिउँसो चर्को घाम र रातिको मुसलधारे वर्षाले सुनकोशी गाउँपालिका–३ कालिकामा गएको पहिरोले ४० घर उच्च जोखिमा परेको छ ।

जिल्ला समन्वय समितिका शाखा अधिकृत युगबहादुर खड्काले पहिरोका कारण विस्थापित भएका साबिक कालिका गाविस–९ का पाँच परिवार अहिले स्थानीय सरस्वती प्राविमा बसेका छन् भने अन्य सात घरपरिवार सुरक्षित स्थानमा गइसकेका छन् । त्यस्तै वडा नं ५ को पाँच घरसमेत विस्थापित भएका छन् । पहिरोका कारण एउटा पक्की घर बगिसकेको र अन्य ६/७ घर ढल्की सकेको खड्काले बताए ।

गाउँका सडक खनिएको र नालीको उचित व्यवस्था नहुँदा माथिबाट पहिरो खसेको र तलबाट पनि पहिरोले तानेकाले त्यस्तो समस्या देखापरेको स्थानीयवासीले बताएका छन् ।

त्यसैगरी सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा पनि २५ घर पहिरोका कारण उच्च जोखिममा परेको वडाध्यक्ष रामकुमार थापाले बताए । यसैगरी साबिकका थुम्पाखरा गाविस–२ सुन्दरडाँडामा चार घर, भालुखोपमा तीन घर, वडा १ को नौकिलोमा दुई घर र वडा ६ को सानुपाखरमा १५ घर र वडा ७ को दलित बस्तीमा समेत २४ घर पहिरोको उच्च जोखिममा परेको जनाएको छ । जोखिम परिवारलाई त्रिपाल र प्लास्टिक वितरण गरिएको वडाध्यक्ष थापाले बताए ।
उच्च जोखिममा परेपनि ओली सरकार भने राष्ट्रिय रुपमा राहत दिन बेखबर देखिएको छ । सिन्धुपाल्चौक भूकम्पीय हिसाबले समेत जोखिम भएको जिल्ला हो ।