प्रदेश 2

बालविवाहपछि चरम यातना भोगेकी एक किशोरीको उद्धार

गौशाला । महोत्तरी मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँका रञ्जीत ठाकुरले बालविवाह गरी यातना दिँदै आएका एक किशोरीलाई जिल्ला प्रहरी कार्यालयले उद्धार गरेको छ ।

ठाकुरले गत असार ११ गते जिल्लाकै जलेश्वर नगरपालिका–५ पर्सापतैलीबाट करिब १५ वर्षीया किशोरीसँग भारतमा गएर दोश्रो विवाह गरेको थियो । विवाहपछि ठाकुरले उनलाई कुटपिट, अश्लील गालीगोलौजलगायत यातना दिँदै आएको थियो । मंगलबार पुनः चरम यातना दिएपछि उनले पतिकोे घर छोडी भागेको थियो ।

पतिको चरम यातना सहन नसकेर घर छोडी भागेकी किशोरीलाई प्रहरीले उनकै छिमेकबाट उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । उनीसँग सोधपुछ र आवश्यक अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

घटनापश्चात् ठाकुर घरबाट भारततर्फ फरार भएको छ । प्रहरीले ठाकुरको व्यापक खोजतलास गरिरहेको र उनीमाथि बालविवाहको मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

यसअघि पनि रञ्जीतले भारतमा विवाह गरेको एक युवती (पहिलो पत्नी) लाई चरम यातना दिएपछि उनी घर छाडेर हिँडेको र उनको हालसम्म कुनै अत्तोपत्तो नरहेको स्थानीवासीको भनाइ छ ।