बाग्मती

बाल इजलास कक्ष सञ्चालन गर्न माग

नुवाकोट । बाल इजलास सञ्चालन गर्नका लागि छुट्टै कक्ष माग गरिएको छ ।
सदरमुकामा विदुरमा आज जिल्ला बाल न्याय समन्वय समितिको आयोजनामा भएको ‘नेपालको बाल न्याय प्रणाली र सरोकारवालाको भूमिका’ विषयको कार्यक्रममा सहभागीले बाल इजलासको छुट्टै कक्षको व्यवस्था गर्न आग्रह गरे । समितिका संयोजक तथा जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले भूकम्पको कारण भवन भत्किएकाले बाल इजलास कक्षको व्यवस्था गर्न नसकिएको बताए। “अहिले अस्थायी भवनबाट अदालतको काम सञ्चालन भइरहेकाले कोठाको अभावमा छुट्टै बाल इजलास कक्ष बनाउन नसकिएको हो”, न्यायाधीश वाग्लेले भने “अहिले नयाँ भवन निर्माण भइरहेको छ । सो भवनमा भने बाल इजलासका लागि छुट्टै कक्षको व्यवस्था हुनेछ ।”
कोठाको अभावमा छुट्टै बाल इजलास कक्ष नभएपछि नियमित इजलास कक्षलाई बालबालिका कसुरदार रहेको मुद्दामा बाल इजलास कक्षका रुपमा प्रयोग गरी न्याय सम्पादन हुँदै आएको जिल्ला अदालतले जनाएको छ । अदालतमा हाल बाल इजलासमा हेर्नुपर्ने दुई मुद्दा छन् ।
जिल्ला अदालतको बाल इजलासबाट न्याय सम्पादन गर्दा कानूनले व्यवस्था गरेअनुसार समाजसेवी र बाल मनोवैज्ञानिक छनोट हुन नसकेको स्रेस्तेदार शिवप्रसाद बञ्जराले बताए । जिल्ला प्रहरी कार्यालयले भने अपराधमा संलग्न बालबालिकालाई पक्राउ गरेर ल्याइएपछि राख्नका लागि छुट्टै हिरासत र अनुसन्धान कक्षको व्यवस्था गरिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले बताए ।
प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बालबालिकालाई ाराधिक गतिविधिमा लाग्न नदिने वातावरण सिर्जना गर्न सबै सरोकार भएकाहरुको दायित्व भएको बताए । जिल्ला बालकल्याण समितिका सदस्य इन्द्रबहादुर पण्डितले स्थानीय तहले बाल न्याय प्रणालीसम्बन्धी कार्यक्रम नगरपालिका र गाउँपालिकाका पदाधिकारीका लागि पनि सञ्चालन गर्न सुझाव दिए । महिला अधिकारकर्मी विन्दा अर्यालले आपराधिक घटनामा संलग्न बालबालिकाहरुका लागि जिल्लामा सुधारगृह स्थापना गर्नुपर्ने बताए ।
कार्यक्रममा बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, नेपालको संविधानले समेटेको बालअधिकार, बाल इजलाससम्बधी कार्यविधिलगायत बारेमा जानकारी दिइएको थियो ।