समाचार

संयुक्त राष्ट्र संघीय आचारसंहिता पालना गर्न माग

काठमाडौँ । देशका विभिन्न भागमा भएका बलात्कार, अपहरण, छुवाछूत र महिलामाथि हुने हिंसाका घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले चिन्ता व्यक्त गरेको छ ।

घटनाका दोषीलाई कानूनी कारवाही गरी शान्ति, न्याय र सुशासनलाई प्रत्याभूत गर्न सरकारसँग माग गरेको समाजका महासचिव उत्तम पुडासैनीले आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । दण्डहीनताको निरन्तरताका कारण यस्ता घटना बढ्दै गएकाले दोषी जोसुकै भए पनि कानूनी कारवाहीको दायरामा ल्याउन पनि समाजले माग गरेको छ ।

अपहरणको एउटा घटनामा कानून कार्यान्वयन गर्ने निकाय विधिको शासनको मान्यता विपरीत गैरन्यायिक हत्यामा संलग्न भएको आशंका विभिन्न कोणबाट उठिरहेकाले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै विज्ञप्तिमा कानून कार्यान्वयन गर्ने अधिकारीका लागि जारी भएको राष्ट्रसंघीय आचारसंहिताको पूर्ण पालना गर्न र जस्तोसुकै अवस्थामा पनि मानव अधिकारको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।