बाग्मती

एक हजार द्वन्द्वपीडितले पाए राहत

नुवाकोट । जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न रु चार करोड २५ लाख ६५ हजार पठाइ ए पनि रु तीन करोड आठ लाख ५० हजार मात्र खर्च भएको जिप्रकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।
द्वन्द्वपीडितका लागि आएको राहतमा रु एक करोड १७ लाख १५ हजार फिर्ता भएको छ । “माग दावी पर्याप्त पर्न नआएका कारण रकम फिर्ता भएको हो । केहीको नाम र थर फरक भएकाले राहत प्रदान गर्न सकिएन”, प्रशासकीय अधिकृत शर्माले भने ।
सबैभन्दा बढी विस्थापित ९८७ जनाले राहत पाएका छन् । विस्थापितलाई रु २५ हजारको दरले राहत वितरण गरिएको हो । यस्तै अपहृत ५० जनाले पनि रु २५ हजारको दरले रकम पाएका छन् ।
जिप्रकाअनुसार मृतक र बेपत्ताका १४ परिवारले रकम पाएका छन् । एक जनाको परिवारले रु १० लाख र बाँकी १३ जनाका परिवारले जनही रु एक लाख ५० हजारका दरले राहत पाएका छन् । यस्तै द्वन्द्वपीडित टुहुरा बालबालिका २३ जनाले जनही रु ६० हजारको दरले पाएका छन् । यस्तै आठ अंगभंग भएकाहरुले रु पाँच लाख ९५ हजार २०० प्राप्त गरेको जिप्रकाका लेखाअधिकृत रामजी लम्सालले जानकारी दिए ।