समाचार

पुनःनिर्माणमा ५०० लाभग्राही थप

ललितपुर । भूकम्पपछिको पुनःनिर्माणका लागि जिल्लामा ५३८ लाभग्राही थप भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दोस्रो सम्झौता गर्ने मिति सकिँदै गर्दा नयाँ लाभग्राही थप गरेको हो । कतिपय लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका र कतिपय नयाँ लाभग्राही पहिचान भएका छन् ।
प्राधिकरण सूचना प्रणाली व्यवस्थापनविज्ञ राकेश महर्जन भन्छन्, “पहिले लाभग्राहीको सूचीमा नपरेका लाभग्राही गुनासो भरेर अहिले पर्नुभएको हो ।” थप भएका लाभग्राहीको अनुदान सम्झौता र पहिलो किस्ता लिने प्रक्रिया अघि बढेको छ ।

पाँच लाभग्राही प्रबलीकरणबाट पुनःनिर्माणमा आएका छन् । यसअघि ६६७ जना प्रबलीकरणका लाभग्राही थिए । उनीहरुमध्ये धेरै पुनःनिर्माणको लाभग्राही सूचीमा पर्न लागिपरेका छन् ।

विसं २०७२ मा भूकम्पलगत्तै सरकारले क र ख वर्गमा गरेर पुनःनिर्माण र सबलीकरणका लाभग्राही पहिचान गरेको थियो । उनले भने, “त्यसयता पनि गुनासोबाट लाभग्राही थप भइरहेका छन् ।”

भूकम्प गएको तीन वर्ष नाघिसक्दा समेत जिल्लामा निजी आवास निर्माण निकै सुस्त गतिमा अघि बढेको छ । अहिलेसम्म जम्मा १४ प्रतिशत लाभग्राहीले मात्रै तेस्रो किस्ता बुझेका छन् । दोस्रो किस्ता बुझ्ने लाभग्राही २८ प्रतिशत र पहिलो किस्ता लिने लाभग्राही ९८ प्रतिशत छन् । उनी भन्छन्, “कतिसँग नयाँ सम्झौता हुँदै भएकाले जिल्लामा निजी आवास सम्पन्न गर्न समय लाग्नेछ ।” प्राधिकरणले दोस्रो सम्झौताका लागि असार मसान्त र तेस्रो सम्झौता गर्न आगामी पुस मसान्तसम्मको अवधि तोकेको छ ।