कृषि

सूर्यगढीमा बङ्गुरपालनप्रतिको आकर्षण बढ्दै

नुवाकोट । सूर्यगढी गाउँपालिकाका किसान बङ्गुरपालनमा आकर्षित हुन थालेका छन् । सूर्यगढी गाउँपालिका–३ फलाँटेमा किसान अचेल बङ्गुरपालनमा आकर्षित भएका हुन् ।

बङ्गुर भन्ने बित्तिकै दलित समुदायले मात्रै पाल्ने भन्ने परम्परालाई यहाँका गैरदलित समुदायका किसानले पनि पालेर आम्दानी गर्न थालेको अग्रसर कृषि सहकारी संस्थाका अध्यक्ष निशा अधिकारीले बताए ।

किसानमा बङ्गुरपालनमा आकर्षित गराउन सहकारीले डेढ वर्ष अघि १२० सदस्यलाई बङ्गुरको पाठा उपलब्ध गराएको छ । प्रतिकृषक दुई/दुई वटा पाठा उपलब्ध गराइएको थियो । बङ्गुरको प्रजनन र मासुका लागि बिक्रीबाट यहाँका कृषकको आयस्तर राम्रो बन्दै गएको हो ।

महिलाको आर्थिक स्थिति सुर्धानको लागि शुरु भएको यो अभियानले सिँगै परिवार र समुदाय नै बङ्गुरपालनमा आकर्षित भएपछि आर्थिक अवस्थालाई टेवा पुग्न थालेको सहकारीका अध्यक्ष अधिकारीले बताए ।

पालेको पाँच महिनामा नै प्रतिबङ्गुर रु ३५ हजारभन्दा बढी आर्जन हुन थालेपछि किसानले सहकारीले दिएकामा थप बङ्गुरका पाठा राखेर पालन गर्न थालेका छन् । अहिले यहाँमा १८० जना किसानले बङ्गुर पाल्न थालेका छन् । नुवाकोट र रसुवामा विभिन्न आयोजनाका लागि कार्यरत चिनियाँ नागरिकका कारण अहिले यहाँको बङ्गुरको भाउ पनि बढेको र मासु खपत भएको स्थानीय किसान कृष्णमान तामाङले बताए ।

चिनियाँले बङ्गुरको मासु रुचाउने र त्यसको माग भएपछि त्रिशूलीदेखिका मासु व्यापारी फलाँटेसम्म बङ्गुर खरीदका लागि आउने गरेका छन् । प्रतिकेजी यहाँका कृषकले व्यापारीलाई खोरबाटै रु २८० मा बङ्गुर बिक्री गरिरहेको किसान तामाङले बताए ।