लुम्बिनी

राप्ती अस्पताल निमित्त प्रमुखका भरमा

दाङ । दश वर्षअघि यस क्षेत्रका नागरिकको जनसहभागितामा निर्मित तुलसीपुरको ‘राप्ती अञ्चल अस्पताल’ डेढ वर्षदेखि निमित्त प्रमुखका भरमा चलिरहेको छ ।

लामो समयदेखि अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट नहुँदा अस्पतालको सेवा प्रवाहमा असहजता आएको छ । अहिले पनि अस्पतालमा आउने सेवाग्राहीले उचित स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

अस्पताल सिफारिश केन्द्रका रुपमा मात्र रहेको नागरिकको गुनासो छ । मङ्गलबार अस्पतालमा आफ्नो स्वास्थ्योपचार गराउन आएकी तुलसीपुर उपमहानगरपालिका–६ की राधा पाण्डेयले आफूलाई इण्डोस्कोपी गराउनका लागि घोराही जान चिकित्सकले सल्लाह दिएको बताए । उनले भनीन्, “अस्पताल छ, डाक्टर उपकरण छैनन्, कति दिनसम्म हामीले नाम मात्रको अस्पतालबाट सेवा लिनुपर्ने हो ?”
अस्पतालमा १४ विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि हाल पाँच चिकित्सक मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । सो अस्पतालका ११औँ तहका मेडिकल सुपरिटेण्डेण्ट डा भोला श्रेष्ठ डेढ वर्षअघि मन्त्रालयमा काज सरुवा भएर गएपछि हालसम्म कोही आएको छैन ।

अहिले अस्पतालमा नौ तहका स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहले निमित्त प्रमुखका रुपमा कार्य गर्दै आएका छन् । अहिले पनि अस्पतालमा दक्ष जनशक्ति र उपकरणको अभावका कारण सघन उपचार कक्ष र एनआइसियु सेवा सञ्चालन गर्ने नसकिएको अस्पतालका प्रशासन अधिकृत निमबहादुर केसीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा हाल ७४ जनाको दरबन्दी रहे तापनि ५६ जना मात्र कार्यरत छन् । सर्पदंशका बिरामी उपचार गराउन आए पनि समस्या हुने गरेको अधिकृत केसीले बताए । उनले भने, “ती बिरामीलाई भेन्टिलेटरमा राखेर उपचार गराउनुपर्ने हुन्छ तर अस्पतालमा भेन्टिलेटर छैन, रेफर गरेर पठायो भने केहीको ज्यान बाटोमा नै जाने गर्छ भने केही उपचारपछि निको हुने गरेका छन् ।” अस्पतालमा एनेस्थेसिया डक्टर नहुँदा पनि समस्या हुने गरेको केसीले बताए ।

अस्पतालका निमित्त मेसु डा सिंहले पर्याप्त जनशक्ति, उपकरण र भौतिक पूर्वाधार नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको बताए । उनले भने, “एनआइसियु सञ्चालनका लागि सामग्री आएको धेरै भयो तर दक्ष जनशक्ति छैन ।

अस्पतालले पछिल्लो पटक मिर्गौला रोगको सेवा शुरु गरेको छ । सेवाग्राहीको भीड हुने गरेको छ तर जनशक्ति अभावका कारण अस्पतालले प्रदान गर्ने अन्य सेवा प्रवाह गर्न नसकेको बताए । मुलुक सङ्घीय संरचनामा गइसके पनि अस्पतालको सूचनापाटीसमेत फेरिएको छैन । अहिले पनि राप्ती अञ्चल अस्पताल नै लेखिएको छ ।

यसैबीच अस्पताल स्थापना गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेका समाजसेवी विमल रिजालले अस्पतालको सेवालाई प्रभावकारी गराउन माग गरेका छन् । उनले नागरिकको अथक मेहनत र आर्थिक सहयोगबाट स्थापित अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा पाउन नसक्नु दुःखद् छ भने ।

नागरिकको व्यापक दवावपछि सरकारले विसं २०६५ मा तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र तुलसीपुरको स्तर वृद्धि गरेर राप्ती अञ्चल अस्पताल स्थापना गरेको थियो । यस क्षेत्रका नागरिकले महापुराण लगाएर संकलन गरेको रु दुई करोड र पाँच बिघा जग्गा अञ्चल अस्पताललाई हस्तान्तरण गरिएको थियो । प्रदेश नं ५ का दाङ, रुकुम र रोल्पा तथा प्रदेश नं ६ का सल्यान र जाजरकोटबाट समेत सेवाग्राही उपचारका लागि आउने गरेकामा उचित स्वास्थ्योपचार पाउन नसक्दा बाँके, रुपन्देही, काठमाडौँ र भारतको लखनउ जानुपर्ने बाध्यता छ ।