स्वास्थ्य

लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकको सुझाव

बर्दिवास । प्रचण्ड गर्मी र पानी पर्ने क्रम सँगसँगै हुँदा महोत्तरी जिल्लामा लामखुट्टेको वृद्धि ह्वात्तै बढेको छ । गर्मी र वर्षा सँगसँगै भएसँगै बजार क्षेत्र, सडकचोक र चौरमा फोहरको डङ्गुर थुप्रिदै जाँदा जताततै लामखुट्टेको वृद्धि भएको यहाँका चिकित्सक र स्वास्थ्यकर्मीले बताएका छन् ।

‘‘पहिलो कुरा त गर्मी र वर्षाको मौसम लामखुट्टे बढ्ने बेला हो’’ बर्दिवास जिल्ला अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी भन्छन्, ‘‘झन जताततै फोहरको डङ्गुर बढ्दै जानुले लामखुट्टे वृद्धिलाई मलजल गरेको छ ।’’

विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले अहिलेको मौसममा आफ्नो परिवेसको सरसफाइ, सडक, आगनमा पानीको उपयुक्त निकास व्यवस्थापन गरेर यसको वृद्धि रोक्न सकिने चिकित्सकको भनाइ छ । गर्मीमा पानी परेका बेला घर, आगन, सडक वरपर खाल्टाखुल्टी बढ्ने र त्यहाँ जम्ने फोहोर पानीमा लामखुट्टे हुर्कन ठूलो सहयोग पुग्ने भएकाले यसमा सचेतरहन चिकित्सकले सुझाव दिएका छन् ।

‘‘डेङ्गु सार्ने ‘एडिस एजेप्टाई’ नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्यूपा हुर्काउँछ’’ जलेश्वर जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा राजीव झा भन्नुहुन्छ, ‘‘हात्तीपाइले, जापानीज इन्सेफ्लाइटिस, मलेरियालगायतका घातक रोग लामखुट्टेबाटै सर्ने हुनाले लामखुट्टे वृद्धि रोक्नु रोगबाट बच्ने उत्तम उपाय हो । ” लामखुट्टेबाट सर्नेबाहेकका अन्य सरुवा रोग, भाइरल इन्फ्लुएञ्जा, स्क्रब टाइफस र लेप्टो स्पाइराको पनि गर्मी मौसममै बढी सङ्क्रमण हुने डा झा बताउँछन् ।

गर्मी र बर्खे मौसम झाडापखाला, रुघाखोकी, ज्वरो, टाइफाइड र चिकनगुनियाको पनि सङ्क्रमण बढ्ने बेला भएकाले आफ्नो वरपर र आन्तरिक सरसफाइ, सफा र स्वच्छ खानेकुरा खान र निर्मलीकरण गरिएको पानीमात्र खाएर यी रोगबाट बच्न सकिने चिकित्सक बताउछन् ।