समाचार

ठमेलमा ‘साइकल लेन’ निर्माण हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छिटै ठमेलमा साइकलमात्र हिँड्ने बाटो (साइकल लेन) निर्माण गर्ने तयारी गरेको छ । मुख्य पर्यकटीयस्थल ठमेलमा घुम्न आउने पर्यटक साइकलमा यात्रा गर्न रमाउने भएकाले उनीहरुलाई नै लक्षित गर्दै उक्त स्थानमा साइकल लेन निर्माण गर्न लागेको कामपाले जनाएको छ ।

कामपाका भौतिक पूर्वाधार महाशाखा प्रमुख राम थापाका अनुसार उक्त कार्य अहिले ठमेलबाट शुरु गर्ने र अन्य स्थानमा पनि आवश्यकताअनुरुप विस्तार गरिनेछ । “काठमाडौँ उपत्यकाको सवारी साधनबाट हुने गरेको बढ्दो प्रदूषण नियन्त्रण गर्न पनि यस किसिमको व्यवस्था जरुरी भइसकेको छ,” प्रमुख थापाले भने ।

चालु आवमा मात्रै कामपाले साइकल लेन निर्माणका लागि रु एक करोड बजेट छुट्याएको छ । शुरुमा ठमेलमा निर्माण उक्त कार्य बजेटले भ्याएसम्म अन्य स्थानमा पनि निर्माण गर्ने योजना कामपाको रहेको छ ।

अघिल्लो वर्ष नै कामपाले मुख्य पर्यटकीयस्थल भन्दै ठमेललाई सवारीरहित क्षेत्र घोषणा गरिसकेको भएपनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । त्यसैगरी ठमेलका खाल्डाखुल्डीको समस्या पनि त्यत्तिकै नै छ । खाल्डाखुल्डीको कारणले गर्दा वर्षाको समयमा हिलो र हिउँदको समयमा धूलोको सामना गर्न ठमेलमा आवतजावत गर्ने यात्रुको बाध्यता हो ।