कर्णाली प्रदेश

पहिरो जोगाउन कार्ययोजना बन्दै

जाजरकोट । जाजरकोटमा दर्जनौँ बस्ती पहिरोको जोखिममा रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृतद्वय महेन्द्रकुमार मण्डल र महेश कुमाईको टोलीले स्थलगत अध्ययन र स्थानीय सरोकारवालासँगको छलफलका आधारमा उक्त निष्कर्ष निकालेको हो ।
टोलीले सदरमुकामस्थित पहिरो प्रभावित विभिन्न स्थानको स्थलगत अवलोकन गरेको छ । सदरमुकामका शान्तिचौतारा, ठाँटी, थाप्ले, बाहुनवाडा, पिपलडाँडा, स्याला, रिसाङ, बोहरा, दार, पोखरा, तिमिले, छिपे्रना, भेरे, गंगटीयालगायत स्थानका हजार बढी घर पहिरोको जोखिममा रहेकाले सचेतना अपनाउन र सुरक्षित रहन अध्ययन टोलीले सुझाएको छ ।
जतिखेर पनि घर भत्कन सक्ने वा माथिबाट पहिरो आउन सक्ने अवस्थामा रहेको भन्दै पहिरोको प्रकृति कस्तो खालको छ । कुन क्षेत्र बढी प्रभावित छ ? के कारण पहिरो गयो लगायतका विभिन्न पक्षमा दीर्घकालीनरुपमा समस्या समाधान गर्न सुझाव र लागत अनुमान तयार गर्ने गरी आफूहरू मन्त्री बस्नेतको निर्देशनमा आएको अधिकृत मण्डलले बताए ।
भिरालो जमीनमा घर निर्माण, सडकको पानी र नालाको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम बढेको उनको भनाइ छ । मन्त्री बस्नेतले सदरमुकाम खलङ्गामा देखिएको पहिरोको जोखिम निराकरण गर्न टोली तत्काल जान निर्देशन दिएलगत्तै जाजरकोट पुगेर अध्ययन गरिएको हो । सदरमुकाम खलंगाको पहिरो रोकथामका लागि करीब रु २० करोड तत्काल खर्च गर्नुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।