सुदूरपश्चिम

एक वर्षमा ९२ महिलाको नाममा जग्गा

बैतडी । पछिल्लो समय महिलाको नाममा जग्गा पास गर्ने क्रम बढ्दै गएको छ । महिलाको नाममा जग्गा पास गर्दा लाग्ने शुल्कमा सरकारले छुटको व्यवस्था गरेका कारण यो क्रम बढ्दै गएको हो । पहिला महिलाको नाममा जग्गा पास गर्ने चलन थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ ।

आर्थिक वर्ष २०७३/७४ मा ७९ महिलाको नाममा जग्गा पास भएको थियो । आव २०७४/७५ मा ९२ महिलाको नाममा जग्गा पास भएको जिल्ला मालपोत कार्यालयका कम्प्युटर अपरेटर अनिल चन्दले जानकारी दिए। गत आवमा एक दम्पतीले संयुक्तरूपमा जग्गाको लालपुर्जा लिएका छन् ।

नेपालको संविधान २०७२ को धारा ३८ को उपधारा ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको समान हक हुने कुरा उल्लेख गरिएको छ । अशिक्षा, जनचेतनाको अभाव र स्वयं महिलाको अग्रसरताको कमीका कारण महिलाको सम्पत्तिमा न्यून पहुँच रहेको पाइन्छ । शिवनाथ गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्द सम्पत्तिमा पहुँच पु¥याउनका लागि नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने बताउँछन् । “पहिलादेखि नै पुरुषको नाममा जग्गा दर्ता गर्ने र उनीहरूलाई नै सम्पत्तिको हकदार ठान्ने चलन थियो,” उनले भने ।

सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला बिष्ट सबै स्थानीय तहमा महिलाको पहुँच भएका कारण स्रोेत तथा सम्पत्तिमा महिलाको पहुँच पुगेको बताए । “हामी यसका लागि अझै पहल गछौँ,” उनले भने ।

महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा २५ प्रतिशत छुट दिने सरकारले व्यवस्था गरेको छ । महिलाको नाममा भएको लालपूर्जालाई एक महिनाभित्रै संयुक्त नाममा बनाउन सकिने र त्यसका लागि रु एक सय मात्रै खर्च लाग्ने नियम छ । महिला र पुरुष दुवैको नाममा संयुक्त लालपूर्जा बनाएमा पनि सरकारले राजश्वमा २५ प्रतिशत नै छुटको व्यवस्था गरेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।