राजनीति

व्यापारीले घुस खुवाउछन्, यस्तो गलत कार्य तुरुन्त हटाउनुपर्छ: अध्यक्ष दाहाल

पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक भित्र लगानीका लागि सुरक्षित वातावरण छ भन्ने सन्देश दिनुपर्ने बताएका छन् ।

जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघको राष्ट्रिय भेलालाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष दहालले लगानी कर्ताको पूँजीको सुरक्षा, उद्योगको सुरक्षा, नाफा कमाउने स्वतन्त्रतालाई सुरक्षित गर्नुपर्ने बताए ।

राज्यले लगानीको सुरक्षा गर्छ भन्ने विश्वास नभएसम्म ठूला वैदेशिक लगानी नेपाल भित्र्याउने तथा समृद्धी हासिल गर्ने विषय कृतिम कुरा मात्र हुने भन्दै उनले मुलुकभित्र रहेका लगानीकर्तालाई राज्यले ढुक्क बनाउनुपर्ने बताए ।

व्यापारीले घुस खुवाउनु पर्ने अवस्थाको अन्त्य र व्यापारीमाथि रहेको अनावश्यक झन्झट अन्त्य नभए देशभित्रको पूँजीसमेत पलाएन हुने जोखिम बढ्ने भन्दै अध्यक्ष दहालले भ्रष्टाचारको अन्त्य र लगानीमैत्री वातावरण बनाएर मात्रै विकास तथा समृद्धीको लक्ष्य हासिल गर्न सकिने धारणा राखे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दहालले उद्योगी व्यपारीलाई ढुक्क भई लगानी गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्नेमा जोड दिए ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले एउटै वस्तुमा दोहोरो तथा तेहरो कर लाग्न नदिने संघीय सरकारले धारणा बनाएको जानकारी दिँदै करका विषयमा विबाद गर्नुपर्ने अवस्था छैन भने ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सकरारले व्यापारमैत्री कानून तथा वातारण निर्माण भए मुलुकको विकास र समृद्धी हासिल गर्न निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे ।