समाचार

अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाइने

काठमाडौँ । युवा तथा खेलकूद मन्त्रालयले अन्तर्राष्ट्रिय युवा दिवस साताव्यापी मनाउने निर्णय गरेको छ । आज मन्त्रालयमा सरोकारवाला निकायबीच भएको बैठकले यही साउन २४ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम गरी सो दिवस साताव्यापी मनाउने निर्णय गरेको मन्त्रालयका सहायक प्रवक्ता महेन्द्रप्रसाद पौड्यालले जानकारी दिए ।

कार्यक्रमअन्तर्गत सरोकारवाला संघसंस्थासँगको सहकार्यमा सरसफाइ, रक्तदान, सेवामूलक, चेतनामूलक, युवा सशक्तीकरण, जनचेतन अभिवृद्धि, युवाहरुबीच चित्रकला प्रतियोगिता र साँस्कृतिक कार्यक्रमलगायत हुनेछन् । बैठकमा मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, परिषद्का सदस्यहरु, विभिन्न संघसस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो । अन्तर्राष्ट्रिय युवा दिवसको यस वर्षको नारा ‘युवाहरुका लागि सुरक्षित स्थान’ रहेको छ ।