शिक्षा

महासंग्राम २०१८ काठमाडौंमा हुदैँ

काठमाडौं । डिबेट नेटवर्क नेपाल र जेभियर एकेडेमीको सहआयोजनामा महासंग्राम २०१८ – अन्तर्राष्ट्रिय बहस च्याम्पियनशिप साउन २५(२८ सम्म जेभियर एकेडेमी, काठमाडौँमा संचालन हुदैछ ।

नेपालका युवा बहसकर्तालाई नेपालमै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभव प्रदान गर्ने मुख्य उद्देश्यका साथ आयोजना भइरहेको चौथौ संस्करणको महासंग्राम बेलायती संसदीय शैलीमा संचालन हुनेछ भने यस प्रतियोगितामा ६० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीले मुख्य तीन विधामा प्रतिस्पर्धा गर्नेछन् ।

बेलायती संसदीय शैली अन्तर्गत हरेक बहसमा ४ ओटा टोली दिइएको प्रस्तावको पक्ष र विपक्षमा आफ्ना केस प्रस्तुत गर्दछन् । परम्परागत शैलीको वादविवादलाई चिर्दै डिबेट नेटवर्क नेपालले यस लगायत अन्य विभिन्न आधुनिक पद्दतिका बहसहरु विगत ५ वर्ष देखि गर्दै आएको छ ।

यस प्रतियोगितामा कुल ५ प्रारम्भिक चरणको बहस हुनेछन् । त्यसबाट छानिएका उत्कृष्ट १६ टोली ओपन विधाको अन्तिम १६का लागि छनोटमा पर्ने छन् । त्यस पछि अन्तिम ८, ४ हुदै १ विजेताको घोषणा हुनेछ । त्यसैगरि नयाँ टोली मध्येका उत्कृष्ट ६ टोली नोभिस विधामा छनोट हुनेछन् र नोभिस प्रिफाइनल र फाइनल गरि विजेताको घोषणा हुनेछ भने नेपाली भाषा तर्फको विधामा उत्कृष्ट ४ टोली सिधै फाइनलमा पुग्नेछन् र त्यसबाट विजेताको टुंगो लाग्नेछ ।

यस प्रतियोगिताका मुख्य निर्णायक प्यानलका सदस्य बंगलादेशका आकिब फरहान हुसेनले ‘महासंग्राम २०१८ को लागि म निकै उत्साहित छु, नेपालको बहस मुभमेन्टमा योगदान प्रदान गर्न पाउँदा खुसी लागेको छ ।’ बताए ।

महासंग्राम २०१७ मा ओपन तर्फमा टिम अगेरियस योगी, स्कुल तर्फको विधामा रातो बंगला स्कुल र नेपाली विधामा सेन्ट जेभियर्स स्कुल विजेता भएका थिए ।