कृषि

२३ वर्षपछि पहिलो पटक रोपाइँ

तनहुँ । जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर २३ वर्षपछि पहिलो पटक रोपाइँ गरिएको छ ।

विसं २०५२ मा उक्त नहरको पानी ल्याएर ताले फाँटमा रोपाइँ गरिए पनि त्यसपछि पहिरोले नहरमा क्षति पु¥याएकाले अत्त्रौली पुट्टार सिँचाइ उप—आयोजनाले २३ वर्षपछि करीब १८ किलोमिटर टाढा डुम्रेबेँसीस्थित मैदीखोलको पानी बाँधबाँधेर पानी ल्याएपछि उक्त फाँटमा रोपाइँ गरिएको हो ।

अहिले उक्त क्षेत्रमा पर्ने करीब २०० हेक्टर क्षेत्रफलमध्ये डेढसय हेक्टर भन्दा बढी जमीनमा रोपाइँ भइसकेको छ । स्थानीय खोलाको पानी निकै कम भएकाले रोपाइँ गर्न कठिनाइ भएपछि उक्त नहरको पानी मिसाएर रोपाइँ गर्न पाएकामा कृषकमा खुशीयाली छाएको अत्त्रौली पुट्टार सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष रामजी अर्यालले बताए ।

लामो समयदेखि कुलोको काम नसकिएकाले नहरमा पानी आउँदैन, र रोपाइँ हुदैन भन्ने भ्रममा परेका कारण स्थानीय कृषकले धानको बीउ नराख्दा करीब एक सय हेक्टर क्षेत्रफल पाखो जग्गामा रोपाइँ हुन नसकेको उनले जानकारी दिए ।

आउँदो वर्ष समयमै धानका साथै तरकारीखेती पनि गर्नका लागि स्थानीयवासी अहिलेदेखि नै उत्साहित भएका छन् । ताले फाँटमा नहरको पानी आउला भन्ने कयौं मानिसलाई विश्वास नलागेका कारण केही भागमा रोपाइँ हुन नसकेको सोही वडाका वडा सदस्य होमनाथ सिग्देलले बताए ।

हामीले धेरथोर बीउ राख्न भने पनि उनीहरुले विश्वास नगरेका कारण पूरै क्षेत्र रोपाइँ हुने भएपनि बीउका कारण केही बाँकी जमीनमा रोपाइँ हुन नसकेको उनको भनाइ थियो ।

उक्त क्षेत्र अन्तर्गत पर्ने अत्त्रौली, भन्टार, बैदीका र पुट्टार क्षेत्रको तल्लो भाग ताले फाँटसहित कूल ४३५ हेक्टर क्षेत्रफलमध्ये करीब ८० प्रतिशतभागमा रोपाइँ भएको सामाजिक परिचालक निराजन अर्यालले बताए । उक्त नहरबाट साउनको १ गतेबाट पानी सञ्चालन भएको थियो ।

उक्त उप आयोजनाले विसं २०७२ को मंसिर महिनादेखि निर्माण कार्य अघि बढाएको सिँचाइ विकास डिभिजन कार्यालयका महाशाखा प्रमुख हरिदत्त पौडेलले जानकारी दिए ।

रू १३ करोड १७ लाखको लागतमा उक्त नहरको ठेक्का सम्झौता भएको सो उपआयोजना ०७५ जेठ २० मा सम्पन्न गर्नुपर्ने भए पनि भारतको नाकाबन्दीका कारण तोकिएको समयभित्र सम्पन्न हुन नसकेको उनले बताए ।

आर्थिक वर्ष ०७५/७६ को जेठ २० सम्मको लागि पुनः ठेक्का म्याद थप गरी कामअघि बढाएको उक्त नहरको निर्माण रायमाझी कन्ट्रक्सन र राजेश्वरी कन्ट्रक्सनले गरेको हो ।