मनोरञ्जन

सरुको मनै रुवाउने ‘आमा बरी लै’ तीजगीत बजारमा (भिडियोसहित)

काठमाडौं । डेढ दशक देखि सांगीतिक क्षेत्रमा निरन्तर लागिपरेकी गायिका धन कुमारी थापा ‘सरु’ ले मार्मिक तीज गीत लिएर आएकी छिन् । सोमबार दरबारमार्गमा रहेको जुनकिरी दोहोरी क्लबमा एक कार्यक्रमका बीच ‘आमा बरी लै’ बोलको गीति भिडियो सार्वजनिक गरिएको हो ।

गोरख म्युजिकको प्रस्तुति रहेको आमा र छोरीको सम्बन्ध बोल्ने यस गीतमा बरिष्ठ गायिका बिमा कुमारी दुरा, गायक नरेश खाति, गायिका धन कुमारी थापा ‘सरु’ र शान्ति श्री परियारको स्वर समावेश छ । स्वयम गायक खातिको शब्द तथा संगीत रहेको गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । सार्वजनिक भिडियोमा बरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’, मोडल दिपासा बिसी, कलाकार शर्मिला शर्मा, स्वयम सर्जक नरेश खाति र धन कुमारी थापाले अभिनय गरेका छन् ।

गीत रिलिज कार्यक्रममा बोल्दै बरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’ ले तीजलाई लक्षित गर्दै तयार पारिएको यस गीतमा बेदनाको भाव समावेश गरिएको बताए । उनले पछिल्लो समय नेपाली चलचित्रमा लोक लयमा आधारित गीत राख्न थालिएको र त्यसलाई दर्शकले समेत अत्याधिक रुचाएको भनाइ राखे । उनले भने, ‘आगामी मैले निर्माण गर्ने चलचित्र दाल, भात, तरकारीमा पनि लोकलय मै आधारित गीत राख्ने निर्णय गरेको छु । यसको छुट्टै पहिचान छ । लोकगीत हाम्रो संस्कृति हो । पहिचान हो ।’ हास्यकलाकार केसीले गायिका सरुसँग दशवर्ष अघिको चिनजान भएको भन्दै अघिल्ला तीजका गीतमा समेत सहकार्य गरेको स्मरण गरे । यता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले तीजमा सार्वजनिक हुने थुप्रै गीतको भिडमा ‘आमा बरि लै’ भिन्न सावित हुने तर्क गरे । उनले यस गीतको शब्द, गायकी र भिडियो मनछुने बनेको बताए । मौलिक सिर्जनाको लागि लामो समय देखि कलम चलाउँदै आएका सर्जक रमेश बिजीले तीज लगायत अन्य बखत सार्वजनिक हुने लोक तथा दोहोरी गीत छिट्टै चर्चामा आउने र हराउने प्रकारको हुने भन्दै यो गीत चर्चित भन्दा लोकप्रिय हुन सफल रहोस् भनि शुभकामना दिए ।

त्यस्तै, मोडल दिपासा बिसीले यो प्रोजेक्टमा जोडिन पाउदा खुसी लागेको बताइन् । उनले किरण केसी जस्तो अग्रज कलाकारसँग एकसाथ काम गर्न पाउनु आफ्नो लागि सौभाग्य भएको भनाइ राखिन् । भोलिको दिनमा अझ अभिनयमा निखारपना ल्याउदै दर्शकको मन जित्ने काम आफूले गर्ने दिपासाको तर्क थियो । गीतका रचनाकार, संगीतकार तथा गायक नरेश खातिले ‘आमा बरि लै’ मनछुने बनेको बताए । उनले आफ्नै आमाले गुनगुनाइ रहने शब्द तथा भाका टिपेर यो गीत तयार पारेको समारोहमा बताए ।

सुन्ने जति सबैलाई गीतले कहि न कतै छुने उनको विश्वास थियो । उता गायिका धन कुमारी थापा ‘सरु’ ले विगत वर्ष जस्तै यो पटक पनि तीजको कोसेली दर्शक श्रोतालाई उपहार स्वरुप ल्याएको बताइन् । उनले अघिल्ला वर्षमा नाच्ने खालका गीत ल्याएपनि यो पटक भने रुवाउने गीत ल्याएकी छिन् । धेरै छोरी चेलीको जीवनमा यो गीत मेल खाने प्रकारको छ । उनले विगत वर्ष जस्तै यो सिर्जनालाई पनि दर्शक श्रोताले मन पराउने विश्वास व्यक्त गरिन् । यो पटक गीतमा तीन पुस्ताकै सहकार्य आफूले गरेको उनको भनाइ छ । बरिष्ठ गायिका बिमा कुमारी देखि कान्छी पुस्ताकी गायिका शान्ति श्री परियासम्मलाई सरुले अटाएकी छिन् ।

कार्यक्रममा गायक तथा समाजसेवी गोकुल अधिकारी, गायक, रचनाकार तथा मोडल सुजन लम्साल, गायक मेक्सम खाति लगायतका श्रष्टा तथा सर्जक उपस्थित थिए । सार्वजनिक गीत म्युजिक नेपालको युट्युव च्यानल मार्फत हेर्न सकिनेछ ।

हेर्नुहोस् भिडियोः–

https://youtu.be/uARSRxXbZhE