गण्डकी प्रदेश

पुल निर्माणले मनाङको यात्रा सहज

मनाङ । मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले रु दुई करोडमा पुल निर्माण गरेको हो । पुल निर्माणले मनाङ लमजुङको यात्रा सहज भएको छ । खोलामा बाढी आउने र यात्रु अलपत्र भएर बस्नुपर्ने समस्या हटेको छ ।

“अब त पुल बन्यो हाम्रो यात्रा सहज बन्यो, समयमा नै गन्तब्यमा पुग्न सजिलो भयो,”स्थानीयवासी पार्वती गुरुङको भनाइ छ । पुल नहुँदा खोलाले धेरै दुःख दिएको तीतो अनुभव सवारी चालक नेत्रबहादुर गुरुङले सुनाए । “सानो देखेर खोलामा गाडी हाल्यो बीचमा अड्किएर खोलामै बसेँ । गाडी बिग्रिएर रु ५० हजार लगाएर मर्मत गरेँ । पुल बनेर सहज भएको छ, अब त्यस्तो समस्या हुँदैन ।”

बेँसीशहर चामे सडकखण्डमा पर्ने यस खोलामा नेपाली सेनाले निर्माण गरेको बेलीबृज २०७२ साल असार ३१ गतेको बाढीले बगायो । त्यसबेला स्थानीयवासीको पहल र जिल्ला विकास समिति मनाङको सहयोगमा काठको अस्थायी पुल बनाई सवारीसाधन आवतजावत नियमित गरियो ।

अस्थायी काठको पुल एक वर्ष पनि नटिकेनपछि खोलाबाट नै सवारीसाधन आवतजावत गरिरहेका थिए । सडक डिभिजनसँग २०७५ असार मसान्तसम्ममा सम्पूर्ण काम सक्ने सम्झौता गरेर पुलको ठेक्का लिएको क्यारवाहन कन्सलटेन्सीले एक महिनापछि काम सम्पन्न गरेको छ ।

यस सडकखण्डमा पर्ने पिसाङ खोला, तिमाङ खोला सब्जेखोलामा अझै काम पूरा भएको छैन । लमजुङ र मनाङ जोड्ने मुख्य नाका नै म्यार्दी खोला भएकाले आफूहरुले यसलाई पहिलो प्राथमिकता दिएको कन्सलटेन्सीका इञ्जिनियर नारायण लामाले बताए । उनका अनुसार भौगोलिक विकटताका कारण समयमा काम सम्पन्न गर्न कठिन भएको र सम्झौताभन्दा ढिला हुन पुगेको हो ।

लामाका अनुसार यस सडकखण्डमा पर्ने तिमाङ खोला, पिसाङ खोला र स्यार्कु खोला पनि क्यारवाहन कन्सलटेन्सीले नै लिएको छ । रु २२ करोडमा मनाङका पाँच खोलामा मोटर चल्ने पुल निर्माण गर्ने जिम्मा लिएको हो । सबै खोलामा २०७५ असार मसान्तसम्ममा काम सकाउने सम्झौता छ ।

सम्झौताअनुसार काम भएन नि भन्दा कन्सलटेन्सीका प्रबन्ध निर्देशक चन्द्र थकाली भन्छन् – “भौगोलिक विकटता नै प्रमुख कारण भएको र आफूहरुले समयमा काम थाले पनि हिउँदमा अत्यधिक चिसोले सिमेन्टको काम गर्न सकिएन ।” वर्षामा अत्यधिक पानी पर्ने र हिउँदमा काम गर्न नसक्नु ढिलाईको प्रमुख कारण रहेको बताईन्छ ।

उनले भने, “अब बाँकी रहेका खोलामा ७० प्रतिशत काम पूरा भइसकेको र दशैँतिहारको बीचमा सबै खोलामा पुल निर्माण गरी मनाङको सडकमा कुनै पनि खोलाले छेक थुन नगर्ने बताए ।” यो सडकखण्डको प्रमुख समस्य बनेको यस म्यार्दी खोला यात्रु र चालकको समस्याको समाधान भएको छ । जसले मनाङको यात्र सहज बनेको छ ।