राजनीति

तरुण दल उपाध्यक्षमाथि सुतेकै ठाउँमा खुकुरी प्रहार, घटनालाई सांघातिक आक्रमण भन्दै तरुण दल आक्रामक

काठमाडौं । नेपाल तरुण दल दोलखा जिल्ला उपाध्यक्ष चित्र तामाङ् माथी हत्या गर्ने मानसिकताले खुकुरी प्रहार भएको छ । शनिबार आफ्नै घरमा सुतिरहेको अवस्थामा उपाध्यक्ष तामाङ् माथि हत्याको कुनियतीले हमला भएको हो । यो घटनालाई नेपाल तरुण दलका केन्द्रिय महासचिव भूपेन्द्र जंग शाहीले सांघातिक हमलाको संज्ञा दिएका छन् ।

हत्या गर्ने अपराधिक मानसिकता भएको अपराधीलाई कडा भन्दा कारवाही हुनुपर्ने महासचिव शाहीले बताए । तरुण दलले घटनाको घोर भत्र्सना गरेको उनको भनाई छ । उक्त आक्रमणबाट गम्भीर घाईते भएका उपाध्यक्ष तामाङलाई अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको महासचिव शाहीले जानकारी दिए । डाक्टरको भनाई उद्वृत गर्दै घाइते तामाङ् अवस्था सुधारोन्मुख रहेको महासचिव शाहीले बताए ।

यता नेपाल तरुण दल उपाध्यक्ष तामाङ्गमाथि ज्यान मार्ने उद्देश्यले भएको सांघातिक हमलाप्रती नेपाल तरुण दल सुनसरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आक्रमणको घोर भत्सर्ना गर्दै तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङ्ले नागरिक अधिकार तथा व्यक्तिको जिउधनको सुरक्षाको सन्दर्भमा गम्भीर रुपमा प्रस्तुत हुन सरकार तथा प्रशासन समक्ष जोडदार माग गरेका छन् । साथै उनले उपचाररत तामाङको शिघ्र स्वास्थय लाभको कामना पनि गरेका छन् ।

घटनाबारे छानविन गर्न नेपाल तरुण दल दोलखा र केन्द्रिय कार्यसमितिको जस्तोसुकै निर्णयमा पनि तरुण दल सुनसरीले ऐक्यबद्वता जनाउने अध्यक्ष गुरुङ्ले सूर्यखबरलाई बताए ।