कृषि

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न

काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठक सभाकक्ष हाँसोमा गुञ्जियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अघिअघि र पूर्वसभामुख ओनसरी घर्ती पछिपछि सभाकक्षमा उपस्थित भएपछि समितिका सदस्यले सो सन्र्दभलाई जोड्दै खित्का छाडीछाडी हाँसेका कारण रमाइलो बनेको थियो ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य सत्यनारायण शर्मा खनालले “अब पूर्वसभामुख घर्ती र मन्त्री पुनको एकैसाथ उपस्थिति भयो, बैठक प्रभावकारी बन्छ” भनेपछि पति पुन र पत्नी घर्ती मुखामुख गरी निक्कै लामो समय खित्का छाडीछाडी हाँसेका थिए ।

प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको पहिलो बैठक आज सिंहदरबारमा वस्यो । अनौपचारिक रुपमा बसेको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य खनालले गरेका थिए ।

संविधानतः सभामुखले समितिको अध्यक्ष नतोकेसम्म समिति सञ्चालनको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नुपर्छ । समितिअन्तर्गत कृषि तथा पशुपक्षी विकास, भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण, ऊर्जा, जलस्रोत तथा सिँचाइ र वन तथा वातावरण मन्त्रालय छन् ।

प्रतिनिधसभाले बनाएका कानून कार्यान्वयनको सन्दर्भमा के कति कार्यान्वयन भए भएनन्, भन्ने विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री वा प्रतिनिधिलाई बोलाई जनताप्रति जवाफदेही बनाउने मिनी पार्लियामेण्टको काम रहन्छ । समितिको बैठकमा पक्ष वा प्रतिपक्ष रहँदैनन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद खनाल, घर्ती, कृष्णप्रसाद दाहाल, घनश्याम खतिवडा, चन्द्रकान्त चौधरी, छविलाल विश्वकर्मा, दलबहादुर राना, नागेन्द्रकुमार, पूर्णकुमारी सुवेदी, पोल्देन छोपाङ गुरुङ, भवानीप्रसाद खापुङ, भूपेन्द्रबहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढाक्षेत्री र राधाकुमारी ज्ञवाली हुन् ।

त्यस्तै रेणुकुमारी यादव, लालकाजी गुरुङ, शान्ता चौधरी, शान्तिमाया पाख्रिन, सीतादेवी यादव, सुरेशचन्द्र दास, सूर्यनारायण यादव, स्मृतिनारायण चौधरी, हरिबोलप्रसाद गजुरेल र ज्ञानकुमारी छन्त्याल रहेका छन् ।

पदेन सदस्यका रुपमा समितिमा कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाल, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत गरी २९ जना रहेको छ । समितिको आजको बैठकमा समितिको पदेन सदस्यका रुपमा रहनुभएका सबै मन्त्रीको उपस्थिति थियो । बैठक अनौपचारिक रुपमा नै सम्पन्न भएको थियो ।