प्रदेश 1

व्यवस्थित पशु बधशालाको आवश्यकता

उर्लाबारी, मोरङ । उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाको मधुमल्ला बजारमा व्यवस्थित पशु बधशालाको निर्माण हुन सकेको छैन ।

स्थानीय तहले व्यवस्थित बधशालाको निर्माण गर्न नसक्दा बजार क्षेत्र फोहर र अव्यवस्थित हुनुका साथै यसबाट मानव स्वास्थ्यमा असर पर्न थालेको छ । उर्लाबारी विराटनगरपछिको ठूलो शहर हो भने मधुमल्ला जिल्लाकै पुरानो बजार हो । बधशाला नभएका कारण उर्लाबारीका मासु व्यवसायीले खसी, राँगा, भैँसी, सुँगुर कुखुरालगायत पशु जथाभावी रुपमा काटेर बिक्री गर्दै आएका छन् । उनीहरुले फोहर जथाभावी फ्याँक्ने गरेका छन् ।

व्यवस्थित बधशाला निर्माणका लागि स्थानीय मासु व्यवसायी र उपभोक्ताले आवाज उठाउँदैआएका छन् । स्थानीय तहले बधशालालाई अहिलेसम्म प्राथमिकतामा राखेका छैनन् । उर्लाबारी नगरपालिका– ७ का पर्शुराम भण्डारी मासु व्यवसायीले फालेको फोहरका कारण दुर्गन्ध खेप्नुपरेको बताए। काटेको मासु लामो समयसम्म राख्दा सड्ने समस्या छ । अधिकांश पसलमा मासु खुला तरिकाले बिक्री गर्ने गरेको उर्लाबारी– ५ की इन्दिरा भट्टराईले बताए।

मधुमल्ला बजार क्षेत्रमा पशु बधशाला सञ्चालन गर्दा स्वास्थ्यमा असर पर्ने गरेको थाहा पाउँदापाउँदै पनि बाध्यताबस उक्त काम गर्नु परिरहेको मासु व्यवसायी शुभधन सुनवार बताउँछन् । पशु बधशाला र मासु जाँच ऐनमा मासु पसलभन्दा अलग्गै बधशाला हुनुपर्ने प्रावधान छ । उर्लाबारीका अधिकांश मासु पसल घुम्ती र सडक पेटीमा खाट राखेर सञ्चालन गरिँदैआएका छन् ।

पूर्व–पश्चिम राजमार्ग र सहायक सडकखण्ड किनारमा सञ्चालन गरिएका मासु पसलबाट निस्कने फोहरमैलाले बजार दुर्गन्धित हुने गरेको छ । व्यवस्थित बधशाला निर्माण नभए पनि तत्कालका लागि स्थानीय तहले मासु पसलको अनुगमन नगर्दा अस्वस्थ्य मासु खान बाध्य हुनु परेको उपभोक्ताको गुनासो छ । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागो बधशाला निर्माणका लागि योजना बनाइरहेको बताए