गण्डकी प्रदेश

बहुपहिचानयुक्त संस्कृतिको संरक्षण गर्न सांस्कृतिक ग्राम

पोखरा । गण्डकी प्रदेश सरकारले स्थानीय तह र समुदायसँगको सहकार्यमा अन्तराष्ट्रियस्तरको बहुसांस्कृतिक ग्राम निर्माणको अवधारणा अघि बढाएको छ । प्रदेशमा रहेका बहुपहिचायनयुक्त संस्कृतिको गरिमा र महत्वलाई दृष्टिगत गरी त्यसको संरक्षण र सम्वद्र्धन गर्न यस्तो अवधारणा ल्याइएको हो ।

प्रदेशमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई यहाँको विविधतायुक्त प्रकृति, भाषा, रहनसहन र संस्कृतिबारे एकै ठाउँमा जानकारी दिने उद्देश्यले सरकारले सांस्कृतिकग्राम स्थापनाको तयारी गरेको हो । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णमुरारी न्यौपानेका अनुसार सरकारले आर्थिक वर्ष २०७४/७५ को कार्यक्रममा नै बहुसांस्कृतिक ग्राम स्थापनाको विषयलाई अघि बढाइएको हो ।

अघिल्लो आवको कार्यक्रम अन्तर्गत सरकारले बहुसांस्कृतिक ग्रामको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलले प्रतिवेदन प्रस्तुत गरिसकेको छ । “यस आवमा प्रतिवेदन अनुसार जग्गा प्राप्ती साथै सो को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कार्यमा सरकार लाग्ने छ”, उनले भने । प्रतिवेदनले बहुसांस्कृतिक ग्राम स्थापना गर्न पहिलो प्राथमिकतामा कास्कीकोटलाई राखेको छ ।

सरकारले यस आवमा एकै जातिको बाहुल्यता भएको बस्तीलाई नमूना सांस्कृतिक ग्रामको रुपमा विकास गर्न बजेट छुट्याएको छ । इतिहास, धर्म संस्कृति, भाषा, लिपि र जातीय विविधता जगेर्ना र प्रवद्र्धन गर्न विभिन्न संग्रहालय स्थापनाको निर्माण गर्न सरकार लागेको छ । सरकारले भाषा–साहित्य, कला संगीत र संस्कृतिको संरक्षण एवं विकास गर्न प्रदेश प्रज्ञा–प्रतिष्ठान स्थापनाको तयारी गरेको छ ।

गण्डकी प्रदेश विविध जाति, भाषा, संस्कृतिले सम्पन्न क्षेत्र भएको बताउँदै संस्कृतिविद् तीर्थ श्रेष्ठ यसका लागि सरोकारवाला जातजाति एवं भाषाभाषीको सक्रियता आवश्यक हुने धारणा राख्छन् “ विविध जाति एवं भाषागत मौलिकता सम्बद्ध जातिका व्यक्तिलाई नै थाहा हुन्छ, संस्कृतिका विविध पक्षको संरक्षण गर्न सबैको सक्रिय सहभागिता अपरिहार्य छ ।”

गण्डकी प्रदेशमा बाहुन, क्षेत्री, गुरुङ, मगर, नेवार, थकाली, दलित समुदायलगायतको धेरै बसोबास भएको जानकारी दिँदै श्रेष्ठले यहाँ लोपोन्मुख छन्त्याल, दरै, कुसुण्डाजस्ता जातजाती र भाषाभाषीको संरक्षण आवश्यक भएको बताए

सरकारले धार्मिक पर्यटनको विकास गर्न कालीगण्डकी करिडोरका त्रिवेणी–देवघाट–गलेश्वर–मुक्तिनाथलाई चार धामका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । धार्मिक महत्वका मनकामना, इसानेश्वर महादेव, थानीको थान, ढोरबराह, छाब्दी बराह, विन्ध्यावासिनी, आलमदेवी, चण्डीकालिका, बाग्लुङ कालिका र मौलाकालिका लगायतका प्राचीन मठमन्दिर, गुम्बा र मस्जिदको वास्तविक विवरण तयार गरी प्रवद्र्धन गर्ने योजना छ ।

नेपालको ऐतिहासिक महत्व झल्कने गरी गोरखाको लिगलिगकोटमा ऐतिहासिक संग्रहालय स्थापना गर्ने तयारी छ । प्रदेशको पर्यटकीय विकास गर्न यहाँका धार्मिक एवं सांस्कृतिक पक्षले महत्वपूर्ण टेवा पु¥याउने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले बताए । “यस प्रदेशमा धार्मिक एवं सांस्कृतिक महत्वका धेरै सम्पदाको संरक्षणले यी सम्पदा पर्यटकीयरुपमा प्रत्यक्ष जोडिने छन् ”, उनले भने ।