पर्यटन/संस्कृति

गुठीका जग्गाको खोजी

ललितपुर । जिल्लाका विभिन्न स्थानमा रहेका सार्वजनिक गुठीका नाममा रहेको जग्गाको खोजी शुरु भएको छ । गुठीका सम्पत्ति कति छ, भन्ने समेत यकिन नभएपछि खोजी शुरु भएको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताए । गुठीका नाममा धेरै जग्गा भए पनि कतिपय जग्गा दर्ताको प्रक्रियामा छ भने कतिपय कहाँ छ भन्ने पत्तो छैन । गुठीका जग्गा पहिचान गरेर दर्ताको प्रक्रियामा लान शुरु भएको उनले बताए ।

पौडेलले भने, “सार्वजनिक गुठीका नाममा भएका जग्गा दर्ता गरेर मात्रै एकीकृत तथ्यांक थाहा हुन्छ ।” व्यक्तिले वषौंदेखि प्रयोग गरेर पनि गुठीले केही आम्दानी नपाएको जग्गाको खोजी पनि भइरहेको उनले बताए । महानगरपालिका क्षेत्रमा मात्रै तीन/चार स्थानमा खाली जग्गा भेटिएको छ ।

सुन्धारादेखी मंगलबजारसम्म झण्डै ४० वटा कवलपसल छन् । उनी भन्छन्, “स्थानीयवासीलाई असर नपर्ने स्थानमा खाली जग्गा र कवल चलनचल्तीको दरमा भाडामा लगाउन सकिन्छ ।,” स्थानीय निकायसँगको सहकार्यमा पुस्तौंदेखि भाडा नतिरि बसेका पसल–कवललाई चलन–चल्तीको भाडादरमा लगाउन प्रयास भइरहेको उनले बताए ।

जिल्लामा सबैभन्दा बढी रातो मछिन्द्रनाथको नाममा जग्गा छ । त्यसबाहेक अरु विभिन्न मन्दिर, देवल र सत्तलका नाममा समेत धेरै अचल सम्पत्ति छ । तीमध्ये कतिपय जग्गा बेवारिसे अवस्थामा त कतिपय वषौँदेखि व्यक्तिले प्रयोग गरिरहेका छन् ।