प्रदेश 2

न्यायिक इजलास भवन उद्घाटन

राजविराज । राजविराज नगरपालिकाले न्याय सम्पादन कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने उद्देश्यले न्यायिक इजलास भवन निर्माण गरेको छ । नवनिर्मित भवनको उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश तीलप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

मेलमिलापबाट मुद्दाको चाप घटाउने उद्देश्यले स्थानीय तहमा न्यायिक अधिकार हस्तान्तरण भएपछि अहिले नगरपालिकाले सामाजिकस्तरमा देखिएका घरायसी विवाद, लेनदेन, ठगी, अंश र सम्बन्ध विच्छेदलगायतका मुद्दालाई छिनोफानो गर्न मध्यस्थताको भूमिका खेल्ने गरेको नगरप्रमुख शम्भु यादवले बताए ।

नगरपालिकाका उपप्रमुख साधना झाको संयोजकत्वमा रहेको न्यायिक इजलासमा हाल ३० मुद्दा परेकोमा छ वटा मुद्दा फछ्र्यौट भएको छ । दुई जटिल मुद्दा अदालतमा पठाइएको र बाँकी न्यायिक प्रक्रियामा रहेको नगरपालिकाका सामाजिक विकास अधिकृत प्रफुल्ल श्रेष्ठले बताए ।