अन्तर्राष्ट्रिय

इरानी कुटनीतिज्ञलाई साउदीले प्रवेश अनुमति दियो

तेहरान । साउदी अरेबियाले जेद्दास्थित कन्सुलर कार्यालयमा कार्य गर्नेगरी एकजना इरानी कुटनीतिज्ञलाई प्रवेश अनुमति दिएको छ । दुवै मुलुकबीच तनावको स्थिति रहेकै अवस्थामा यो समाचार राज्य नियन्त्रित सञ्चार माध्यमले प्रकाशमा ल्याएको छ ।

विदेश मन्त्रालयका एक अधिकारी मोहम्मद अलिबाकलाई त्यस्तो अनुमति प्राप्त भएको इरानी समाचार संस्था इर्नाले जनाएको छ । रियाधले भने यस सम्बन्धी समाचारको पुष्टी गरेको छैन । सुन्नी मुस्लिम बाहुल्य साउदी अरेबीया र शिते बाहुल्य इरानबीच दशकौंदेखि सिरियाको गृहयुद्ध समेत मध्यपूर्वमा जारी द्वन्द्वमा मतभिन्नता रहँदै आएको छ ।

साउदी अरेबीयामा रहेका वरिष्ट शिते धर्मगुरुलाई मृत्युदण्ड दिएको विरोधमा तेहरानस्थित साउदी अरेबीयाली राजदूतावासमा विद्रोहीहरुले आक्रमण गरेपछि सन् २०१६ देखि दुवै मुलुकबीचको दौत्य सम्बन्ध समाप्त भएको थियो ।