अन्तर्राष्ट्रिय

आजकै दिन गएको थियो हिरोसिमामा १ लाख ४० हजार मान्छेको ज्यान !

टोकियो । जापानको हिरोसिमा शहरमा आजभन्दा ७३ वर्षअघि दोस्रो विश्वयुद्धका क्रममा विश्वमै पहिलो पटक भएको आणविक बम हमलाको सोमबार स्मरण गरिँदैछ ।

सोमबार बिहान हिरोसिमा शहरमा घण्टा बजेर उक्त नरसंहारको स्मरण गरिएको थियो । जापानभर आज उक्त नरसंहारको स्मरण गरिएको छ ।

हिरोसिमामा सन् १९४५ को अगष्ट ६ मा अमेरिकाले गरेको आणविक बम आक्रमणबाट भएको नरसंहारको स्मरण गर्न हिरोसिमामा रहेको शान्तिपार्कमा हजारौँ नागरिक जम्मा भएका थिए ।

सन् १९४५ मा आजकै दिन बिहान अमेरिकी सैनिकको एक युद्धक विमानले बी–२९ नामको आणविक बम जापानको बन्दरगाह शहर हिरोसिमामा खसालेको थियो ।

त्यस बमको असरबाट कम्तीमा पनि १ लाख ४० हजार हिरोसिमाबासी नागरिकको ज्यान गएको थियो । बमको असरले अरु हजारौँ व्यक्ति नराम्ररी प्रभावित भएका थिए ।

सोमबार बिहान हिरोसिमा शान्ति पार्कमा उक्त नगरका नगर प्रमुख काजुमी मात्सुइ वार्षिक समारोहमा उभिए र आणविक अस्त्र बिनाको विश्वको लागि विश्व समुदायसँगै अपिल गरे ।

संसारका देशहरुमा बढ्दो राष्ट्रियतावादको नारा आणविक अस्त्र विनाको विश्वको लागि एक चुनौती बन्दै गएको बताए ।

कुनै पनि देशको नाम नलिई उनले भने– विश्वका कतिपय देशहरुले आत्मकेन्द्रित रुपमा नै राष्ट्रियतावादको नारा दिएका छन् र यसको संरक्षणका लागि भन्दै आणविक अस्त्रहरुको आधुनिकीकरण गरिरहेका छन् ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा यस्ता आणविक अस्त्रहरुको बृद्धि गर्ने कुरा गरेको एक वर्षपछि हिरोसिमाका नगर प्रमुख मात्सुइले विश्वबाटै यस्ता हतियारहरुको उन्मूलन गर्न आग्रह गरेका हुन् ।

उनले भने– आणविक अस्त्र उन्मूलन गर्ने प्रयासहरुलाई निरन्तरता दिइनैपर्छ । यस्ता हतियारहरु निर्माण नगर्ने र त्यस्ता देशलाई पनि सहयोग नगर्ने जापान सरकारको नीति छ ।

दोस्रो विश्वयुद्धको उत्तरार्धतिर अमेरिका र जापानबीच युद्ध भएको थियो । त्यस क्रममा अमेरिकाले जापानको हिरोसिमामा अगष्ट ६ र नागासाकीमा अगष्ट ९ मा अणु बम हानेको थियो ।

नागासाकीमा गरिएको सो हमलाबाट ७४ हजार जापानी नागरिकको ज्यान गएको थियो । अरु हजारौँ नागरिकमा यस बमको प्रभावले स्वास्थ्यमा नकारात्मक प्रभाव परेको थियो ।

हिरोसिमामा पुग्ने पहिलो अमेरिकी राष्ट्रपति बाराक ओबामा हुनुभएको छ । उहाँ उक्त शहरमा सन् २०१६ को मे महिनामा पुगेका थिए ।