प्रदेश 1

ढलले बस्ती दुर्गन्धित

सल्लेरी, सोलुखुम्बु । बजारको ढल पसेपछि सोलु दूधकुण्ड नगरपालिका– ४ फाप्लुको दलित बस्ती दुर्गन्धित भएको छ ।

फाप्लु बजारको घरघरबाट निस्केको ढल खोल्सामा मिसाउँदा बजारभन्दा तल रहेको दलित बस्तीमा पस्दा दुर्गन्धित भएको हो । ढल व्यवस्थापनका लागि स्थानीयवासीले पटक पटक माग गर्दैआएका छन् । मागबारे सुनुवाइ भएको छैन । स्थानीयवासी दिकुमार बराइलीले भने, “घर नजीकैको खोल्सामा दिसासहितको ढल छ, दुर्गन्धले बसिनसक्नु भएको छ ।” दुर्गन्धका कारण स्थानीयवासी बिरामी पर्ने गरेको उनले बताए ।

सो बस्तीमा १६ दलित परिवारको बसोवास छ । बस्तीभन्दा माथि फाप्लु बजार रहेको छ । वडाध्यक्ष दावागेलु पाख्रिनको घर पनि सोही बजारमा रहेको छ । “दुर्गन्धले घरमा बस्नै मुश्किल छ”, स्थानीयवासी चेतनारायण विश्वकर्माले भने । घाम लागेका बेला दुर्गन्ध बढी फैलिने गरेको छ । खानेपानीको मुहान नजीकै ढल बग्छ । त्यही मुहानको पानी स्थानीयवासी प्रयोग गर्न बाध्य छन् ।

नगरपालिका–४ का वडाध्यक्ष पाख्रिन ढल व्यवस्थापनका लागि रकम अभाव रहेको बताउँछन् । खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयका प्रमुख कुलप्रसाद शर्माले खानेपानी तथा सरसफाइ कार्यालय जिल्लामा नरहने भएकाले ढल व्यवस्थापनको काम नगरपालिकाले गर्नुपर्ने बताए ।