समाचार

२० मुलुकका उच्च सैनिकको अभ्यास शुरु

काठमाडौँ । विपद्को समयमा मानवीय उद्धारमा खटिदा बहुर्राष्ट्रिय सेनाबीच सम्पर्क कायम गरी सूचना प्रवाहलाई कसरी व्यवस्थित तुल्याउन सकिन्छ भन्ने उद्देश्यले २० मुलुकका उच्च सैनिकको अभ्यास आजदेखि यहाँ शुरु भएको छ ।

अमेरिकी सेनाको प्रशान्त क्षेत्र कमाण्डको सहयोगमा नेपाली सेनाद्वारा आयोजित उक्त अभ्यासमा आ–आफना देशका सैनिकले सञ्चालनमा ल्याएका दुरसञ्चार ( सिग्नल) मार्फत बहुर्राष्ट्रिय सेनाबीच विपद्का समयमा सम्पर्क र समन्वय गरी मानवीय कार्यलाई प्रभावकारी तुल्याउनेबारे सैद्धान्तिक र व्यवहारिक अभ्यास हुनेछ ।

अभ्यासमा विभिन्न मुलुकका उपरथी तहसम्मका २७५ जना सैनिकको सहभागिता छ । स्न २००५ मा जापानमा आएको सुनामीपछि ठूलाखाले प्राकृतिक प्रकोपका घटनाका बेलामा उद्धारमा खटिएका बहुर्राष्ट्रिय सेनाको जिम्मेवारी र मानवीय उद्धार कार्यलाई व्यवस्थित तुल्याउन सैनिकले प्रयोग गर्ने दुरभास यन्त्रलाई समयानुकूल बनाउन यस्ता कार्यले निकै ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ ।

भूकम्प, सुनामीजस्ता ठूला खाले विपद्का घटना आएर सम्बन्धित मुलुकको दुरसञ्चार प्रणाली अवरुद्ध भएका समयमा सहयोग र सम्पर्क आदानप्रदान गर्न सैनिकले सञ्चालन गर्ने फ्रिक्वेन्सी निकै प्रभावकारी सावित हुँदै आएको छ ।
चौंध दिने सो अभ्यासमा नेपाल, अष्टे«लिया, बंगलादेश, कम्बोडिया, फिजी, फ्रान्स, इण्डोनेसिया, जापना, मंगोलिया, माल्दिम्भ, मलेसिया, फिलिपिन्स, सिगापुर, श्रीलंका, थाइल्याण्ड, टोगो, भियतनाम, दक्षिण कोरिया, पपुवा न्यूगिनी र अमेरिका छन् ।

स्थलगतरुपमा प्राप्त गरेको ज्ञानका आधारमा नेपाली सेनाले २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पका समयमा बहुर्राष्ट्रिय सेनासँग आफनो सिग्नलमार्फत सम्पर्क, सहयोग र समन्वय प्रभावकारी ढंगबाट गरेको थियो । विश्वमा सूचना र प्रविधिको क्षेत्रमा के–कस्तो विकास भइरहेको छ भन्ने बारेमा जानकारी हासिल गर्न यस्तो कार्यक्रमले सहयोग पुग्ने यो कार्यक्रम नेपालमा यो दोस्रो पटक आयोजना गरिएको हो ।

तीन पटक योजना बनाएर त्यसका आधारमा वार्षिकरुपमा यस्ता अभ्यास विभिन्न मुलुकमा गरिन्छ । कार्यक्रमको उद्घाटन गर्दै युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले प्राकृतिक विपद्को समयमा हुनसक्ने मानवीय क्षतिलाई रोक्न र उद्धार कार्यलाई प्रभावकारी तुल्याउन बहुर्राष्ट्रिय सेनाबीच सहयोग र सम्पर्क कायम राख्न सहयोग पु¥याउने यस्ता अभ्यास निकै अर्थपूर्ण रहने धारणा व्यक्त गरे ।

नेपालमा २०७२ सालको भूकम्पको बेलामा बहुर्राष्ट्रिय सेनाबाट भएको उद्धार, सहयोग र समन्वयको स्मरण गराउँदै विपद्को बेला सेनाबीच सूचना आदानप्रदान र सही व्यवस्थापनको खाँचो छ भने । अमेरिकी सेनाका कृष्टी विल्सनले विपद्को समयमा बहुर्राष्ट्रिय सेना परिचालन हुँदा मानवीय सहायता कार्यलाई निकै परिणामुखी तुल्याउन सकिने धारणा व्यक्त गरे ।