राजनीति

विवेकशील साझा पार्टीमा हुलदंगा, पार्टी संकटमा

काठमाडौं । विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले पार्टी संकट रहेको खुलासा गरेकी छन् । सोमबार एक ट्वीट गर्दै उनले यस्तो बताएकी हुन् । दर्शनाले अंग्रेजीमा ट्वीटर र फेसबुकमार्फत पार्टी संकटमा रहेको कुरा बताएकी छन् ।

उसो त, पार्टीभित्रको विवादबारेको समाचार यसअघि नै प्रकाशमा आएईसकेको थियो । प्रदेश संयोजक नियुक्तीबारे शनिबार आन्तरिक विवाद भएको थियो । विवादपछि आइतबार पार्टीले एक विज्ञप्ती जारी गरेको छ ।

‘शनिवार बानेश्वरमा प्रदेश नं ३ को ६ वटा जिल्लाका संयोजकहरूको घोषणा कार्यक्रममा केही व्यक्तिहरूबाट भएको हुलदङ्गाप्रति हामी अत्यन्तै दुःखी छौँ, पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, सो हुलदङ्गामा संलग्न कतिपय पार्टीको सदस्य नै नरहेको र घुसपैठ समेत भएको हामीले प्रारम्भिक सूचना पाएका छौं ।’

विज्ञप्तीमा अघि भनिएको छ, ‘हुलदङ्गा र त्यसमा संलग्नहरूका बारे सूक्ष्म छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउन शनिबार नै बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले न्याय तथा सुशासन आयोगलाई सिफारिस गरिसकेको छ । यस विषयमा हामी तपाईँको धैर्यको अपेक्षा गर्दछौँ ।’

आचार्यको विज्ञप्तिमा भनिएको छ– ‘हामी हाम्रा शुभेच्छुक र सदस्यहरूको व्यवहारिक र जायज आवाज तथा आलोचनाको सधैँ सम्मान गर्नेछौँ । तर, अभद्र व्यवहार स्वीकार्य हुने छैन । पार्टी निर्माणको क्रममा आएका प्रतिकूलताहरू हामी चिर्दै जाने नै छौँ ।’

रञ्जु दर्शनाको ट्वीटः–