प्रदेश 2

समाजको सकारात्मक सोच नआए मुलुक समृद्ध हुनै सक्दैनः मुख्यमन्त्री राउत

पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको सोचमा रुपान्तरण तथा सकारात्मक परिवर्तन नआएसम्म राष्ट्र समृद्ध हुन नसक्ने धारणा व्यक्त गरेका छन् ।

सडक, नाला, विद्यालय भवनजस्ता पूर्वाधार निर्माणले मात्र राष्ट्र समृद्ध हुन सक्दैन भन्दै उनले समाजको सकारात्मक र प्रगतिशील सोचको विकासले नै मुलुकलाई समृद्धितर्फ लैजान सक्ने बताए ।

पर्साको कालिकामाई गाउँपालिकाको वीरञ्चिबर्वामा सञ्चालन भइरहेको दिव्यकन्या उच्च माविको उद्घाटन समारोहमा मुख्यमन्त्री गद्दीले समाजलाई रुपान्तरण गर्दै स्वास्थ्य शिक्षामा गुणात्मक प्रगतिसँगै गरिबीलाई समाप्त गरे मात्र राष्ट्र समृद्ध हुनसक्छ भने ।

उनले समाजमा रहेको पुरातनवादी सोचलाई हटाउँदै समाजभित्रको कुरीति अन्त्य गर्नका लागि प्रदेश सरकारले “बेटी बचाउ बेटी पढाउ”को अभियानलाई अगाडि बढाएको र यस अभियानमा सहभागी हुन सबैलाई आह्वान गरे ।

यस अभियानलाई थप प्रभावकारी बनाउन प्रदेश सरकारले प्रदेश प्रहरी सेवामा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको जानकारी दिँदै मुख्यमन्त्री गद्दीले अब प्रदेशबाट वितरण गरिने अन्य सेवामा समेत महिलाका लागि आरक्षण गरिने उल्लेख गरे ।

दिव्यकन्या उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष सन्त पटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं २ का प्रदेशसभा सदस्य प्रह्लाद गिरी, सिंघासनप्रसाद कलवार, करिमा बेगमलगायतका वक्ताले छोराछोरीबीचको विभेद अन्त्य नभएसम्म समृद्ध समाजको निर्माण हुन नसक्ने विचार व्यक्त गरे ।