कर्णाली प्रदेश

आठको मृत्यु भएको पुष्टी, संख्या अझै बढ्न सक्ने, जाजरकोट शोकग्रस्त

जाजरकोट । जाजरकोट सदरमुकाम खलंगामा आज बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ । एक जना अझै बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ ।

भेरी नगरपालिका¬ ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा खड्गबहादुर लुहारकी श्रीमती २५ वर्षीया शितला लुहार, उनका छोरीहरु ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियार रहेका छन् । उनीहरुको शव पहिरोले पुरेको अवस्थामा घरभित्रबाट निकालिएको हो ।

उनीहरु सबै भेरी–३ खलंगा ठाँटीस्थित तीर्थराज बोहराको घरमा भाडामा बस्दै आएका थिए । त्यस्तै घरमुली तीर्थराज बोहराकी ७ वर्षीया छोरी नग्मा बोहराको पनि मृत्यु भएको छ । जीवितै उद्धार गरिएका खड्गबहादुर लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । छाती, टाउको र खुट्टामा चोट लागेका लुहारको अवस्था गम्भीर छ ।

यसै ठाउँमा गोपाल सुनारको घर पहिरोले पुर्दा कुशे–६ ढिमेका १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नवीन परियारको शव फेला परिसकेको छ । नलगाड–१ डाँडागाउँका ८ वर्षीय गोविन्द परियारको लाश फेला परेको छैन । पानी परिरहेकाले उद्धारमा समस्या भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न माग

जाजरकोट निर्वाचित सांसदले पहिरोमा परी ज्यान गुमाएका परिवारलाई राहत र घाइतेको उपचार निःशुल्क गर्न माग गरेका छन् ।

आजको संसद् बैठकमा बोल्दै सांसदले पहिरोले स्थानीय दुई जनाको घर पुरिँदा नौ जनाको मृत्यु हुनुका साथै केही घाइते भएको भन्दै प्रदेश सरकारका तर्फबाट मृतक परिवारलाई तत्कालीन राहत र घाइतेको उपचार गर्न माग गरेका हुन् ।

सांसद गणेशप्रसाद सिंहले जनतालाई प्रदेश सरकारको अनुभूति दिलाउन घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरे । उनले भने, “२४ घण्टाभित्र घटनास्थलमै पुगेर राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यान जाओस् ।” सांसद कौशिलावती खत्रीले संसद्मा उठाएका कुराहरुको सम्बोधन नहुने गरेको भन्दै आपत्ति जनाए ।